काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब ब्रिगेड ब्वाइज (बीबीसी) ले 'ए' डिभिजन लिग रोक्न माग नगरेको बताएको छ ।
ब्रिगेडले शनिबार एक विज्ञप्ति निकाल्दै क्लबले 'ए' डिभिजन लिग रोक्न माग नगरेको जनाएको छ ।
क्लबले लिग रोक्न नभई कोरोना महामारी कायम रहदा लिग आयोजनाको मिति, तालिका र स्वास्थ्य मापदण्डको विषयमा चासो राखिएको जनाएको छ ।
'ब्रिगेड ब्वाइजले हामी लिग खेल्न चाहदैनौ भनेको छैन । क्लबले लिगको समय, प्रस्तावित तालिका र कमजोर स्वास्थ्य मापदण्डको बारेमा चासो व्यक्त गरेको हो,' विज्ञप्तिमा भनिएको छ ।
गत साता ब्रिगेडसहित चार क्लबले असोज ३ बाट सुरु हुने 'ए' डिभिजन लिग फुटबल रोक्न माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउनेमा ब्रिगेडसहित थ्री स्टार, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।
ब्रिगेडले लिग खेल्नका लागि क्लबले २२ खेलाडी अनुबन्ध गरिसकेको समेत जनाएको छ । यस्तै क्लबले विदेशी कोटामा क्यामरुनका बर्टरान्ड एबोडे, रुडी बाकोप र फाब्रिस मर्लिनलाई अनुबन्ध गरिएको समेत जनाएको छ ।