एजेन्सी । इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सनले इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म सिरी 'ए' खेल्न नपाउने भएका छन् ।
इटालियन फुटबल फेडेरेसनको टेक्निकल साईन्टिफिक कमिटिले एरिक्सनको शरीरमा जडान गरिएको आइसिडी नहटाएसम्म उनले खेल्न नमिल्ने जनाएको छ ।
कमिटिका सदस्य फान्सेस्को ब्राकोनारोले यसको पुष्टि गरेका छन् ।
'एरिक्सनलाई इटालीमा खेल्नका लागि अनुमति दिन सकिदैन । यदि उनले डेफिब्रिलेटर हटाएको छ भने इन्टरको लागि खेल्न सक्छ,' फान्सेस्कोले भने ।
युरोकप फुटबल दौरान हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र आइसिडी जडान गरिएको थियो ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।