काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजनामा चार देशले दाबी प्रस्तुत गरेका छन् ।
प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको बंगलादेशले कोभिडका कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र श्रीलंकाले प्रतियोगितामा दाबी प्रस्तुत गरेका थिए ।
अब प्रतियोगिता आयोजनामा भारत र माल्दिभ्ससमेत थपिएका छन् । साफ आयोजनामा दाबी गर्ने देशको संख्या चार पुगेको छ ।
शुक्रबार साफको महासचिव स्तरीय बैठकमा बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने पुरानै कारण दोहर्याएकाे थियो । साफले समेत अहिलेसम्म प्रतियोगिताको लागि प्रायोजक नभेटिएको बताएको थियो ।
योसंगै प्रतियोगिता आयोजनाका लागि दाबी प्रस्तुत गरेका देशको नाम राखिएको थियो । जसमा भारत र माल्दिभ्स थपिएका छन् ।
अघिल्लो बैठकमा नेपालले समेत प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको थियो । नेपालको दाबीसंगै सरकारले समेत साफ आयोजना गर्ने सार्वजनीक रुपमै घोषणा गरेको थियो ।
सरकारले प्रतियोगिता आयोजना गर्ने औपचारिक घोषणा गरेपछि साफ नेपालमै आयोजना हुने सम्भावना बढेको थियो ।
शुक्रबारको बैठकमा एन्फा महासचिव इन्द्रमान तुलाधरले नेपालमा कोभिडको अवस्था चिन्ताजनक रहेपनि प्रतियोगिता आयोजना गर्न आफुहरु सक्षम रहेको बताएका थिए ।
उनले प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिन बैठकमा प्रस्ताव गरेका थिए ।
बैठकमा माल्दिभ्सले श्रीलंकासंग मिलेर संयुक्त रुपमा प्रतियोगिता आयोजनाको दाबी प्रस्तुत गरेको छ भने भारतले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेको छ ।
साफ आयोजनामा चार देशले दाबी प्रस्तुत गरेपछि यसको औपचारिक निर्णय भने हुन सकेन । बैठकले एक हप्ताभित्र सबै देशले अन्तिम प्रस्ताव तयार गर्ने र उपयुक्त प्रस्तावमा निर्णय गर्ने सहमती जुटाएको छ ।
हप्ता दिनपछि बस्ने साफको बैठकमा उपयुक्त प्रस्ताव प्रस्तुत गर्ने देशले प्रतियोगिता आयोजनाको अवसर प्राप्त गर्नेछ ।
प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले आवश्यक रकम दिने सहमती जनाईसकेको छ । एन्फाले नयाँ प्रस्ताव अनुसार साफ आयोजनाका लागि सरकारसंग ५ करोड रुपैयाँ माग गरेको छ ।
अर्थमन्त्रालयले प्रतियोगिता नेपालमा आयोजना भएको खण्डमा आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।