एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोलाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिग क्लब युनाईटेडले सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्धित गरेको हो ।
सान्चोले युनाईटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२६ सम्म युनाईटेडमा रहने छन् ।
यस्तै युनाईटेडले सम्झौता थप गर्नका लागि विकल्प समेत दिएको छ ।
२१ वर्षीय सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन् । उनको नाममा ५७ असिस्ट समेत रहेको छ ।
वाटफोर्डको एकेडेमीबाट सुरुवाती फुटबलको कला सिकेका सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए ।
दुई वर्ष सिटीको एकेडेमीमा बसेर सान्चो २०१७ मा डर्टमण्ड गएका थिए ।
सान्चोले २०१७ को सिजन फ्रान्कफर्टविरुद्धको खेलबाट डर्टमण्डको सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०१८ को अप्रिलमा बायर लिवरकुसेनविरुद्धको खेलमा डेब्यु गोल गरेका थिए । त्यसयता उनी डर्टमण्डको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।
सान्चोले इंग्ल्यान्डका लागि २२ खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए ।
सन् २०१७ मा इंग्ल्यान्ड यू-१७ को विश्वकप जित्दा सान्चो टिममा महत्वपूर्ण सदस्य थिए ।