काठमाडौं । विश्वास नहुन सक्छ, लुइस भान गाल अन्तर्राष्ट्रिय फुटबलमा पुर्नआगमन रच्दै छन् । हो र ? अबको केही दिनमा यसबारे घोषणा हुनेछ र उनी हुनेछन्, नेदरलयान्ड्सका प्रशिक्षक ।
युरो २०२० को अन्तिम १६ मा नेदरल्यान्ड्स चेक गणतन्त्रको हातबाट पराजित भएपछि त्यति बेलाका प्रशिक्षक फ्रान्क डे बोरले टिम छाडेका थिए ।
अब उनको स्थानमा आउने छन्, ६९ वर्षीय भान गाल । अहिले डच मिडियाले यस्तै दाबी गरेर समाचार प्रकाशित गरिरहेका छन् ।
युरोको समाप्तीमा डच फुटबल संघ नयाँ प्रशिक्षकको खोजीमा थियो र यसैक्रममा संघका निर्देशक निको जान होगमाले भान गालसँग सम्पर्क बढाउन सुरु गरेका थिए ।
संघको यसपल्ट इच्छा थियो, प्रशिक्षकका त्यस्तो व्यक्तित्व आउनु पर्छ, जो कडा र प्रखर छ । अनि जसको विश्व फुटबलमा राम्रै ठूलो नाम छ ।
भान गाल यस्तै नाम त हो । उनले सबैभन्दा पहिले सन् २००० मा डच टिम सम्हालेका थिए, तर सन् २००२ को विश्वकपमा टिम छनोट हुन असफल भएपछि उनले राजीनामा दिए ।
सन् २०१२ मा उनी फेरि डच टिममा फर्के । त्यसको दुई वर्षपछि नेदरल्यान्ड्सको टिम सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा तेस्रो स्थान हात पारेको थियो ।
सम्भवत: अब विश्वकप छनोटमा भान गाल फेरि एकपल्ट डच प्रशिक्षकका रूपमा मैदानमा फर्कने छन् । र, त्यस अगाडि हामी भने उनको नियुक्तीको औपचारिक समाचार पर्खौं ।
–रोयटर्सको सहयोगमा ।