काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीका संयोजक कृष्णबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
एन्फाका उपाध्यक्ष समेत रहेका थापाले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
थापाले टेक्निकल कमिटिको संयोजकको जिम्मेवारी दिईएपनि हरेक कामहरु विधि विधान विपरित आफ्नो स्वीकृति बिना हुँदै आएको कारण नैतिकताको आधारमा आफु पदमा बस्न नमिल्ने भएकाले राजीनामा दिएको बताए ।
'एन्फा टेक्निकल कमिटिको प्रमुख म । खेलाडी छनोट, प्रशिक्षक नियुक्ति, बी लाइसेन्स कोर्ष लगायतका काममा मलाई जानकारी हुनुपर्छ। तर,मलाई जानकारी नगराई सबै कुरा भएको छ । मनोमानी तरिकाले काम भएको छ,' थापाले खेलपाटीसँग भने,'त्यसैले पदमा बस्न मलाई उचित लागेन। मैले आजकै दिनबाट लागु हुनेगरि राजीनामा दिएको छु ।'
थापाले यू-१८ खेलाडी छनोटमा आफ्नो असहमति भएको बताए । एन्फाले खेलाडी छनोटमा धादली भएको बताए ।
यस्तै थापाले आफ्नो मातहतमा रहेपनि एन्फाले महिला टिमको सहायक प्रशिक्षक छनोट, बी लाइसेन्स कोर्ष गर्दा आफुलाई जानकरी नदिईएको आरोप लगाए ।