एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिमले जर्मनीको यू-२३ टिमलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा ब्राजिलले १० खेलाडीमा सिमित जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे । यस्तै पाउलिन्होले एक गोल गरे ।
जर्मनीका नाडीम अमिरी र राग्नर एगले एक एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।
खेलको ३० औं मिनेटमा रिचार्लीसनले ह्याट्रिक पूरा गर्दा ब्राजिल ३-० ले अघि रह्यो ।
पहिलो हाफको इन्जुरी समयमा माथ्युसले पेनाल्टी गोल गर्न सकेनन् ।
५७ औं मिनेटमा अमिरीले गोल गर्दै जर्मनीलाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ८३ औं मिनेटमा राग्नरले गोल गर्दै जर्मनीलाई ३-२ को स्थितिमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४-२ को जित दिलाए ।
जितसँगै समूह 'डी' को ब्राजिलले पहिलो खेलमा ३ अंक जोडेको छ । जर्मनीले भने हारबाट ओलम्पिकमा सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा आइभरी कोस्टले साउदी अरेबियालाई २-१ ले हराएको छ ।