काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले यस वर्षको ए डिभिजन लिग निर्धारित मितिमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
ललितपुरका चार ए डिभिजन क्लबले लिग स्थगित गर्न माग गरेकोप्रति कप्तान किरणले कुनै पनि हालतमा घरेलु लिग स्थगित गर्न नहुने बताएका हुन् ।
कोभिड संक्रमणको कारण देखाउदै ए डिभिजन क्लब थ्री स्टार, फ्रेन्ड्स, जावलाखेल र बिग्रेड ब्वाइजले लिग रोक्न माग गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको ए डिभिजन लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय टिमका कप्तान किरणले लिग सबैका लागि महत्वपुर्ण रहने उल्लेख गर्दै लिग नभएको अवस्थामा खेलाडीले के गर्ने भनेर प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘लिग सबैका लागि महत्वपुर्ण छ । लिग बिना खेलाडीले के गर्ने ? त्यसले लिग निर्धारित मितिमै हुन आवश्यक छ । कुनै हालतमा स्थगित हुनु हुदैन ।’
चार ए डिभिजन क्लबले एक पक्षिय रुपमा टिम दर्ता सम्बन्धि पत्र पठाइएको भन्दै यथासिघ्र बैठक बोलाउन माग गरेका थिए ।
किरणले जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाट खेलेका थिए । उनी एनएसएलका सर्वोत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।
किरणले गत सिजनको लिग भारतको आइ लिग क्लब पञ्जाबबाट खेलेका थिए । उनी सिजनको उत्कृष्ट गोलकिपर समेत बनेका थिए ।
कोभिडकै कारण गत वर्ष समेत ए डिभिजन लिग हुन पाएन । लिग नहुँदा सयौं शीर्ष डिभिजनको लिग खेल्ने खेलाडी प्रभावित बनेका थिए । केही क्लबले यस वर्ष समेत कोभिडका कारण लिग रोक्न माग गरेका छन् ।
असोजको पहिलो साता सुरु हुने ए डिभिजन लिगका लागि अधिकांश क्लबले खेलाडी अनुबन्धको प्रक्रियालाई अघि बढाएका छन् । अधिकांश क्लबले लिगका लागि आवश्यक खेलाडीलाई अनुबन्ध गरिसकेका छन् ।