एजेन्सी । लेजेण्ड एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।
इजरायलमा मंगलबार राति भएको खेलमा रियलको लेजेण्ड टिमले बार्सिलोनाको टिमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्लुमफिल्ड स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भयो ।
खेलको २८ औं मिनेटमा जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । अमाभिस्काको प्रहार रिबाउन्ड भएर आएपछि मुनिटिसले जाली चुमाएका थिए ।
त्यसको २ मिनेट नबित्दै ४४ औं मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
खेलको ६० औं मिनेट जोफ्रे माटिउले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७० औ मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।
करिब २५ हजार दर्शकसामु भएको खेलमा बार्सिलोना र रियलका 'गोल्डेन एरा’ का खेलाडीहरुको उपस्थिति रहेको थियो ।
बार्सिलोनाको टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्हो लगायतका खेलाडी थिए ।
रियलको टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो,फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए ।
यस अघि २०१७ भएको खेलमा भने बार्सिलोनाले रियललाई ३–२ ले हराएको थियो ।