एजेन्सी । सन् २०२१/२०२२ को सिजनका लागि पेप ग्वार्डिओला अहिले म्यानचेस्टर सिटी टिमको तयारीमा छन् ।
त्यसको ठीक अगाडि सिटीका लागि मीठो समाचार आएको छ, क्लबका प्रमुख खेलाडी रियाद मेहरेज अन्यत्र जाने छैनन् ।
यी अल्जेरियाली खेलाडी सिटीमा खुसी छन्, त्यसैले पनि क्लबले उनलाई नयाँ अनुबन्धको प्रस्ताव राख्दैछ ।
उनको अहिलेको अनुबन्ध भने सन् २०२३ मा सकिनेछ । उनले साँच्चै नयाँ अनुबन्ध गर्छ भने यो हुनेछ, एक त्यस्ता खेलाडीको सफलताको यात्रा, जसका लागि प्रशंसाका शब्द खर्चिन कन्ज्युसाइ गर्नु पर्दैन् ।
अनि यसलाई भन्न सकिन्छ, फ्रान्सेली लिग टुबाट इंग्लिस प्रिमियर लिग (ईपीएल) आइकन ।
वास्तवमै अद्धितीय छ, उनले तय गरेको बाटो । सन् २०११ मा १९ वर्षका मात्र छँदा मेहरेजले हाभरेसँग तीन वर्षको पहिलो व्यवसायिक अनुबन्ध गरेका थिए । यो हाभरे फ्रान्सेली लिग टुको क्लब थियो ।
त्यसपछि उनी इंग्ल्यान्ड लागे, उनको नयाँ गन्तब्य थियो, लेस्टर सिटी । फेरि यो लेस्टर अहिलेको जस्तो होइन, त्यति बेला दोस्रो डिभिजनमै थियो, त्यसो भनेको च्याम्पियनसिप लिगमा ।
तर लेस्टरले त्यति बेला प्रिमियर लिगमा बढुवाका लागि प्रयास गरिरहेको थियो । मेहरेज त्यस लेस्टर टिमको सुरुआती ११ कै खेलाडी रहे र क्लबले प्रमोसन पनि खायो ।
सन् २०१५/२०१६ मा गज्जब नै भयो, यही लेस्टरले ईपीएल पनि जित्यो । लेस्टर अर्थात ‘द फक्स’ को त्यो टिमका प्रमुख खेलाडी नै थिए, मेजरेज ।
त्यसको पनि दुई वर्षपछि उनी सिटी पुगे, छ करोड ९० लाख युरोमा । सिटी आएयता पनि ग्वार्डिओलाको प्रमुख खेलाडी नै रहे ।
पछिल्लो सिजन सिटीले लिग उपाधि जित्दा पनि मेहरेजको खेल निर्णायक थियो । ग्वार्डिओला आफै पनि उनको खुबै प्रशंसा गर्छन् ।
अझ पछिल्लो पटक धेरैले भन्न थालेका छन्, यी मेहरेज अहिलेको पुस्ताका सबैभन्दा राम्रा विन्गर हुन् ।
– द मार्काबाट अनुवाद ।