काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टिमका लागि तीन जना सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा भने ग्यारी फिलिप्स रहेका छन् ।
एन्फाले तीनै जनालाई एएफसी महिला एसियन कप-२०२२ छनोट सम्मका लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
'तीनै जना प्रशिक्षकलाई एसियन कप छनोट सम्मका लागि नियुक्त गरिएको हो । उनीहरु टिममा सामेल भईसकेका छन्,' एन्फा प्रवक्ता किरण राईले खेलपाटीसँग भने ।
यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारी श्री प्रकास बैद्यलाई दिईएको प्रवक्ता राईले बताए ।
महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ ।
एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।
छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।