एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सी बालोन डी'ओर अवार्डको मुख्य दाबेदार भएको बताएका छन् ।
कोम्यानले क्लबको वेबसाइटसँग कुरा गर्दै यस वर्ष अवार्डको मुख्य दाबेदार मेस्सी भएको बताएका हुन् ।
'उत्कृष्ट सिजनको कारण मेरो लागि मेस्सी बालोन डी'ओरको मुख्य उम्मेदवार हुन्,' उनले भनेका छन् ।
६ पटकको बालोन डी' ओर विजेता मेस्सीले हालै अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि दिलाएका छन् ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई हराएर कोपा जितेको हो ।
अर्जेन्टिनाका लागि मेस्सीको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
मेस्सी कोपामा उत्कृष्ट खेलाडी समेत बनेका थिए । यस्तै सर्वाधिक गोलकर्ता समेत चुनिएका थिए ।
प्रशिक्षक कोम्यानले मेस्सी टिमको महत्वपूर्ण खेलाडी भएको समेत बताए ।
'उहाँ अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ । उनी टिमका कप्तान र एक उदहारण हुन् । उनको गोल गर्ने कला उत्कृष्ट छ,' कोम्यानले भने, 'उनले आफुलाई उत्कृष्ट भएको प्रमाणित गरिसकेको छ । उनी कोपा जित्न चाहन्थे । उनले पूरा गरिसकेका छन् ।'
बार्सिलोनाका कप्तान मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका छन् । तर, मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता हुने पक्का भईसकेको छ ।
मेस्सीले बार्सिलोनासँग पाँच वर्षे सम्झौता गर्ने बताईएको छ । मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ ।
मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा खेल्न अर्जेन्टिना गएका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।