एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटाली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।
प्लेयर्स टु वाच :
लोरेन्जो इन्सिने – इटाली
स्पेनविरुद्ध मैदान उत्रदा इटालीले फरवार्ड लोरेन्जोसँग उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । तथ्यांक हेर्दा लोरेन्जोले प्रत्येक खेलमा टोलीलाई न्याय दिँदै आएका छन् ।
३० वर्षीय स्ट्राइकरले बेल्जियमविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए । उनले गोल समेत गरेका थिए । जारी युरोमा उनले ४ खेलमा खेल्दा २ गोल गरिसकेका छन् ।
सिरी ए क्लब नापोलीबाट खेलिरहेका लोरेन्जोले इटालीका लागि ४५ खेलमा १० गोल गरिसकेका छन् । अनुभवी फरवार्डले इटालीको यू-२० र २१ टोलिबाट समेत खेलेका थिए ।
लोरेन्जोले सन् २०१० बाट निरन्तर नापोलीबाट खेलिरहेका छन् ।
सर्जियो बुस्केट्स – स्पेन
कोरोना संक्रमणको कारण बुस्केट्सले स्विडेनविरुद्धको सुरुवाती खेल गुमाएका थिए । कोरोनाबाट मुक्त हुँदै उनी पोल्याण्डविरुद्धको खेलबाट मैदान फर्किएका थिए ।
३२ वर्षीय डिफेन्सिभ मिडफिल्डरको आगमनसँगै स्पेनले खेलमा समेत लय समातेको थियो । उनकै प्रेरणादायी कप्तानीसँगै स्पेन सेमिफाइनलसम्म आईपुगेको छ । त्यसैले इटालीविरुद्ध स्पेनले उनीसँग धेरै आशा राखेको छ ।
बार्सिलोनाबाट क्लब फुटबल खेलिरहेका बुस्केट्स २०१० को विश्वकप जित्दाका मुख्य खेलाडी समेत हुन् । ३२ वर्षीय बुस्केट्स बल होल्ड गर्न, लामा सट प्रहार गर्न र अट्याकरलाई बल निकाल्न सिपालु छन् । उनले स्पेनिस टोलीबाट १ सय २६ खेल खेल्दा २ गोल गरेका छन् ।