एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटाली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । त्यसअघि इटालीले प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
तर, इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसी स्पेनविरुद्धको खेल कठिन हुने बताउछन् ।
'स्पेन बेल्जियमभन्दा फरक भएपनि कठिन हुनेछ । अघिल्ला खेल जस्तो समान हुने छैन । स्पेन वर्षौंदेखि असाधारण टिम हो,' प्रशिक्षक मान्सिनी भन्छन्, 'उनीहरुसँग धेरै राम्रो प्रशिक्षक र खेलाडीहरु छन् ।'
तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गरेको थियो ।
स्पेनिस प्रशिक्षक लुइस इन्रिके पनि इटालीविरुद्धको खेल सहज नहुने बताउछन् ।
'मलाई लाग्दैन की हामी दुबै टिम एक अर्कामा हाबी हुन्छौ । त्यसले खेल रोचक हुनेछ,' इन्रिकेले भने, 'इटाली वास्तविक बलियो टिम हो । उनीहरु धेरै पक्षमा बलिया छन् । यस खेल साच्चिकै चाखलाग्दो खेल हुनेछ ।'
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।
पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।
युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।