एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल अन्तर्गत आज (शनिबार) राति चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।
बाकु ओलम्पिक स्टेडियममा चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
आज चेक रिपब्लिक र डेनमार्क जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा रहेका छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो ।
डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।
युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।
प्लेयर्स टु वाच :
प्याट्रिक शिक - चेक रिपब्लिक
चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी टिमको मुख्य हतियारको रुपमा रहेका छन् । जारी प्रतियोगिताको ४ खेलमा उनले ४ गोल गरिसकेका छन् ।
शारीरिक तथा प्राविधिक रुपमा बलिया प्याट्रिक 'लेफ्ट फुटेट' खेलाडी हुन् । उनी सेन्टर फरवार्ड र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग चेक रिपब्लिकको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।
राष्ट्रिय टोलीमा उनले ३० खेल खेल्दा १५ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।
मार्टिन ब्रेथवेट – डेनमार्क
चेक रिपब्लिकविरुद्ध डेनमार्कका विंगर मार्टिन ब्रेथवेटले प्रभाव जमाउन सक्छन् । पछिल्ला ४ खेलमा १ गोल गर्न सफल उनले प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
चेकविरुद्ध पनि डेनमार्कले उनीसँग आशा राखेको छ । ब्रेथवेटले चेकका डिफेन्डरलाई व्यस्त बनाउने अनुमान गरिएको छ ।
विंगर भूमिकामा समेत सहजै खेल्ने मार्टिन स्पेनिस सफल क्लब बार्सिलोनाबाट खेल्ने गर्छन । ३० वर्षीय मार्टिनले डेनमार्कको उमेर समूहमा यू–१७, १९, २१ टोलीबाट खेलिसकेका छन् । मार्टिनले सिनियर टोलीबाट ५४ खेल खेल्दा १० गोल गरेका छन् ।