एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज (शुक्रबार) राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।
बेल्जियम र इटालीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।
प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
बलियो देखिएको इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।
प्लेयर्स टु वाच :
रोमेलु लुकाकु (बेल्जियम)
शारीरिक तथा प्राविधिक रुपमा निकैनै बलिया स्ट्राइकर रोमेलु लुकाकु इटालीका लागि घातक बन्न सक्नेछन् । विपक्षी डिफेण्डरलाई सहजै बिट गर्न माहिर २८ वर्षीय लुकाकु इटालीविरुद्ध बेज्लियमको मुख्य हतियार हुने छन् ।
लुकाकुले जारी प्रतियोगिताको ४ खेलमा आफुलाई उच्च स्तरको फरवार्ड भएको प्रमाणित गरिसकेका छन् । उनले ४ खेलमा ३ गोल गरिसकेका छन् ।
इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका लुकाकुले यस अघि इंग्लिस प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिसकेका छन् । उनले इन्टर अघि चेल्सी, एभर्टन र म्यानचेस्टर युनाईटेडबाट खेलिसकेका छन् ।
लुकाकुले बेल्जियमको उमेर समूह टिम यू-१५, १८, २१ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले बेल्जियमका लागि ९७ खेलमा ६३ गोल गरिसकेका छन् ।
लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्ता समेत हुन् । आफ्नो पोजिसनमा सहजै भिज्ने, पेनाल्टी प्रहार र फिनिसिङ समेत उत्कृष्ट रहेको लुकाकुलाई रोक्न इटालीका डिफेन्डरलाई कठिन हुनेछ ।
सिरो इमोबाइल (इटाली)
बलियो टिम बेल्जियमविरुद्ध मैदान उत्रदा इटालीले मुख्य हतियारको रुपमा सिरो इमोबाइललाई अगाडी सार्नेछ । ३१ वर्षीय फरवार्डले आफुलाई प्रमाणित समेत गरिसकेका छन् ।
इमोबाइलले जारी युरोमा ३ खेलमा २ गोल गरिसकेका छन् । उनले इटालीको हरेक जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
इटालीका लागि उनले ४९ खेलमा १५ गोल गरिसकेका छन् । उनले इटालीको उमेर समूहबाट समेत खेलेका थिए ।
इटालियन सिरी ए क्लब लाजियोमा आबद्द उनी २०१९/२० को सिजन सर्वाधिक गोल कर्ता हुन् । लाजियोका लागि ३९ गोल गर्दै उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।