एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज (शुक्रबार) राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।
बेल्जियम र इटालीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेकाछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।
प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
तर, बेल्जियमलाई इटालीविरुद्ध सहज हुने छैन । बेल्जियमलाई इटालीविरुद्ध खेलाडीको चोटले समेत सताउने छ ।
'इटाली सुरुवातमै आक्रामक खेल्नेछ । दोस्रो उनीहरुको संरचना संगठित रहनेछ । हरेक खेलाडीलाई आफ्नो भूमिका थाहा छ,' बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भन्छन् ।
इटालीविरुद्ध बेल्जियमका प्ले मेकर केभिन डे ब्रुएना र कप्तान तथा विंगर इडेन हाजार्डले खेल्ने सम्भावना कम रहेको छ । दुबैले पोर्चुगलविरुद्धको खेलमा चोट बोकेका थिए ।
बलियो देखिएको इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
इटाली शीर्ष वरीयताका टिमविरुद्ध पनि आफ्नो लयलाई कायम राख्न चाहन्छ । तर, कठिन टिमविरुद्ध इटालीलाई सहज हुने छैन ।
'हामी हाम्रो खेल खेल्छौं । हामी सधै उनीहरुलाई सम्मान गर्छौं । हामीलाई थाहा छ उनीहरु कति राम्रो टिम हो,' इटालीका प्रशिक्षक रोबर्टो मान्सिसी भन्छन्, 'हामीले देखेका छौँ उनीहरु सहज छैनन् । उनीहरुले अहिलेको उत्कृष्ट टिम हो । त्यसैले हाम्रो लागि हरेक खेल कठिन हुन्छ ।'
इटालीलाई खेलाडी चोटले भने सताउने छैन । इटालीका सबै खेलाडी पूर्ण फिट रहेका छन् । जसको फाईदा इटालीसँग हुनेछ ।
दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।
मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।