एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज (शुक्रबार) राति स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छन् ।
स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि-क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको थियो ।
तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित थियो ।
स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।
दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिदा एक खेल स्विट्जरल्यान्डले जितेको छ ।
प्लेयर्स टु वाच :
अल्भारो मोराटा – स्पेन
स्पेनका प्रभावशाली स्ट्राइकर अल्भारो मोराटा इटालियन सिरी 'ए' क्लब युभेन्ट्सबाट खेल्ने गर्छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट उनी युभेन्ट्स पुगेका हुन् । उनले गत सिजन क्लबका लागि ३२ खेलमा ११ गोल गरेका थिए।
स्विट्जरल्यान्डविरुद्ध मोरोटा स्पेनका मुख्य खेलाडी हुनेछन् । २८ वर्षीय स्ट्राइकर मोरोटाले जारी युरोको ४ खेलमा २ गोल गरिसकेका छन् । त्यसैले उनले स्विस टोलीको डिफेन्स लाइनलाई निकै व्यस्त बनाउने अनुमान गरिएको छ ।
उनीसँग स्पेनको यू–१७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ । उनले सिनियर टोलीबाट ४४ खेलमा २१ गोल गरेका छन् ।
मोराटासँग रियल मड्रिड, चेल्सी, एट्लेटिकोबाट खेलेको अनुभव रहेको छ । उनले बेलारुससँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । पेनाल्टी प्रहार गर्न सफल, प्राबिधिक तथा शारीरिक रुपमा बलिया मोराटा पाएका अवसर सदुपयोग गर्न, सेट पिसमा हेडिङ प्रहार गर्न सफल मानिन्छन् ।
जद्रान शाकिरी - स्विट्जरल्यान्ड
२९ वर्षीय शाकिरीले समूह चरण र प्रि क्वाटरफाइनलमा आफु उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेका छन् । उनले ४ खेलमा २ गोल गरेका छन् ।
त्यसैले बलियो स्पेनविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्डले शाकिरीलाई अघि सार्ने छ । मिडफिल्डर शाकिरी विंगरमा समेत खेल्न सक्छन् ।
शाकिरी आफ्नो टिममेटलाई बल उपलब्ध गराउन र गोल गर्न माहिर छन् । त्यसैले स्पेनिस टोलीको डिफेन्सलाई उनले व्यस्त बनाउने छन् ।
इंग्लिस क्लब लिभरपुलबाट क्लब फुटबल खेलिरहेका शाकिरीले स्विट्जरल्यान्डबाट ९५ खेलमा २५ गोल गरिसकेका छन् । उनले उमेर समूहको टिमबाट समेत खेलिसकेका छन् ।