एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज (शुक्रबार) राति स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ । त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन् ।
स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि-क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको थियो ।
रोमान्चक खेलमा फ्रान्सलाई स्तब्ध बनाउन सफल स्विट्जरल्यान्ड आफ्नो जितको यात्रालाई अझै अघि बढाउन चाहन्छ । स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक भ्लादमिर पेट्कोभिच आफ्नो टिम जितको भोको रहेको बताउँछन् ।
'अर्को चरण सधै महत्वपूर्ण हुन्छ । हामी अर्को चरणमा स्थान बनाउन चाहन्छौं,' भ्लादमिरले भने, 'हामीले मैदानमा हाम्रो भोकोपन देखाउन आवश्यक छ । म विश्वस्त छु उनीहरुले गर्ने छन् ।'
स्पेनविरुद्ध स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले खेल्ने छैनन् । लगातार दुई खेलमा पाएको पहेलो कार्डको कारण उनी स्पेनविरुद्ध मैदान उत्रने छैनन् ।
तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित थियो ।
स्पेनिस प्रशिक्षक लुइस इन्रिके स्विट्जरल्यान्डविरुद्धको खेल कठिन हुने बताउँछन् ।
'यो एक जटिल खेल हुनेछ । उनीहरु धेरै राम्रो टिम हो । हाम्रो लागि यस खेल धेरै कठिन हुने अनुमान गरेको छु,' उनले भने ।
स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रदा स्पेनिस टिमलाई चोट सताउने छैन । खेलाडीहरु पूर्ण फिट रहेको प्रशिक्षक इन्रिकेले भनाईछ ।
स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।
दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिदा एक खेल स्विट्जरल्यान्डले जितेको छ ।