एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज (मंगलबार) राति इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
इग्न्ल्यांडले समूह 'डी' बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
जर्मनीविरुद्ध इंग्ल्यान्ड समूह चरणको प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । इंग्ल्यान्डलाई घरेलु मैदानको फाईदा समेत हुनेछ । तर, बलियो टिमविरुद्ध इंग्ल्यान्डलाई सहज भने छैन ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट जर्मनीसँगको खेल चुनौतिपूर्ण रहेको मान्छन् । तर, टिमले इतिहास रच्नेमा उनी आशावादी छन् ।
'हामीले देखेका छौँ की इतिहास सिर्जना गर्न सकिन्छ । मलाई लाग्छ कि खेलाडीहरूले डराउनको सट्टा यसलाई चुनौतीको रुपमा लिने छन्,' उनले भने, 'क्वाटरफाइनलमा पुग्नका लागि यो सुनौलो अवसर हो ।'
जर्मनीले समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग २-२ गोलको बराबरी खेलेको थियो ।
जर्मनीका मुख्य प्रशिक्षक जोचिम लो इंग्ल्यान्डविरुद्धको खेल फरक हुने दाबी गर्छन् ।
'इंग्ल्यान्डविरुद्धको खेल फरक हुनेछ । इंग्ल्यान्ड घरमा हुनेछ र आक्रमण गर्ने छन् । तर, हामीले फाईदा लिनुपर्छ,' उनी भन्छन् ।
युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको यो १३ औं भेट हुनेछ ।