एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
स्विट्जरल्यान्डले समूह 'ए' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो ।
फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक भिड्न लागेका हुन् ।
प्लेयर्स टु वाच -
करिम बेन्जिमा - फ्रान्स
स्विट्जरल्यान्डविरुद्ध करिम बेन्जिमा फ्रान्सका मुख्य हतियार हुने छन् । किनकी उनले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फरवार्ड बेन्जिमाले समूह चरणको ३ खेलमा २ गोल गरिसकेका छन् । अनुभवी फरवार्डले स्विट्जरल्यान्डविरुद्ध जित निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ ।
बेन्जिमा ६ वर्षपछि फ्रान्सको टिममा परेका हुन् । बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए । उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए ।
तर, फ्रान्सको टिममा पुनरागमन गरेका उनले आफुलाई प्रमाणित गरिसकेका छन् । ३३ वर्षीय बेन्जिमा रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।
फ्रान्सको उमेर समूहको टिम हुँदै राष्ट्रिय टिममा अटाएका उनले फ्रान्सका लागि ८६ खेलमा २९ गोल गरेका छन् ।
जद्रान शाकिरी - स्विट्जरल्यान्ड
२९ वर्षीय शाकिरीले समूह चरणमा आफु उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेका छन् । उनले ३ खेलमा २ गोल गरेका छन् । समूह चरणमा टर्कीविरुद्ध शाकिरीले दुई उत्कृष्ट गोल गरेका थिए ।
त्यसैले बलियो फ्रान्सविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्डले शाकिरीलाई अघि सार्ने छ । २९ वर्षीय मिडफिल्डर शाकिरी विंगरमा समेत खेल्न सक्छन् । फ्रान्सका बलिया डिफेन्सलाई उनले व्यस्त बनाउने छन् ।
इंग्लिस क्लब लिभरपुलबाट क्लब फुटबल खेलिरहेका शाकिरीले स्विट्जरल्यान्डबाट ९४ खेलमा २५ गोल गरिसकेका छन् । उनले उमेर समूहको टिमबाट समेत खेलिसकेका छन् ।