एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) राति फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।
साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।
तर, विश्वकप विजेता फ्रान्सलाई स्विट्जरल्यान्डविरुद्ध जित निकाल्न सहज हुनेछैन । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प त्यसमा सजग छन् ।
'उनीहरु एक संगठित टिम हो । उनीहरुसँग आक्रामक खेलाडी छन् । हामीले उनीहरुलाई कमजोर मान्ने छैनौँ । यो नकआउट चरणको खेल हो,' डेसच्याम्प भन्छन् ।
स्विट्जरल्यान्डले समूह 'ए' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो ।
समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल अन्तरले हराएको थियो ।
फ्रान्सविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्ड आफ्नो शतप्रतिशत खेल पस्कने योजनामा रहनेछ । स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक भ्लादमिर पेट्कोभिचले फ्रान्सविरुद्ध जितकै लागि खेल्ने बताउछन् ।
'हाम्रो एउटा मात्र लक्ष्य छ । फ्रान्सविरुद्ध राम्रो खेल्नु र अर्को चरणमा पुग्ने प्रयास गर्नु हुनेछ,' भ्लादमिरले भने ।
फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक भिड्न लागेका हुन् ।