एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) राति स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।
स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।
क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् ।
प्लेयर्स टु वाच :
लुका मोड्रिच - क्रोएसिया
स्पेनविरुद्ध मैदान उत्रदा क्रोएसिया कप्तान लुका मोड्रिचमा निर्भर हुने छन् । प्ले मेकर मोड्रिचको खेलमा टिमको प्रदर्शन निर्भर हुनेछ ।
३५ वर्षीय मिडफिल्डर फरवार्डलाई बल उपलब्ध गराउन माहिर छन् । त्यतिमात्र हैन उनी गोल गर्न समेत माहिर छन् ।
रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका मोड्रिचले समूह चरणको ३ खेलमा १ गोल गरेका थिए । त्यसैले उनी स्पेनविरुद्ध प्रभावशाली हुने अनुमान गरिएको छ ।
क्रोएसियाका लागि १ सय ४१ खेल खेलेका उनले १८ गोल गरिसकेका छन् । उनले क्रोएसियाको उमेर समूहबाट समेत खेलेका थिए ।
मोड्रिचसँग इंग्लिस क्लब टोटेनहमबाट प्रिमियर लिग खेलेको अनुभव समेत रहेको छ ।
अल्भारो मोराटा – स्पेन
स्पेनका प्रभावशाली स्ट्राइकर अल्भारो मोराटा इटालियन सिरी 'ए' क्लब युभेन्ट्सबाट खेल्ने गर्छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट उनी युभेन्ट्स पुगेका हुन् । उनले गत सिजन क्लबका लागि ३२ खेलमा ११ गोल गरेका थिए।
क्रोएसियाविरुद्ध मोरोटा स्पेनका मुख्य खेलाडी रहनेछन् । २८ वर्षीय स्ट्राइकर मोरोटाले समूह चरणको ३ खेलमा १ गोल गरिसकेका छन् । उनले क्रोएसियाका डिफेन्स लाइनलाई निकै व्यस्त बनाउने अनुमान गरिएको छ ।
उनीसँग स्पेनको यू–१७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ । उनले सिनियर टोलीबाट ४३ खेलमा २० गोल गरेका छन् ।
मोराटासँग रियल मड्रिड, चेल्सी, एट्लेटिकोबाट खेलेको अनुभव रहेको छ । उनले बेलारुससँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । पेनाल्टी प्रहार गर्न सफल, प्राबिधिक तथा शारीरिक रुपमा बलिया मोराटा पाएका अवसर सदुपयोग गर्न, सेट पिसमा हेडिङ प्रहार गर्न सफल मानिन्छन् ।