एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) राति स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।
स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो।
स्पेनको लागि क्रोएसियाविरुद्ध एउटा परिक्षा हुनेछ । विश्वकपको उपविजेता टिमविरुद्ध स्पेनलाई सहज हुने छैन । किनकि स्पेनले समूह चरणमा निकै संघर्ष गर्नु गरेको थियो ।
'क्रोएसिया विश्व उपविजेता टोलि हो । एक शीर्ष टिम हो । हामीलाई थाहा छ उनीहरु कठिन प्रतिद्वन्दी हुन् । उनीहरुलाई हराउनु भनेको कडा परिश्रम गर्नु हो । कोपनहेगनमा जितेर अघि बढ्ने छौँ,' स्पेनका फरवार्ड फेरान टोरेस भन्छन् ।
क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो।
स्पेनिस टिमविरुद्ध क्रोएसियालाई पनि सहज हुने छैन । तर, स्पेनिस टिमलाई हराउँन ज्लाट्को डालिचले योजना बनाएका छन् ।
'स्पेनले स्लोभाकियाविरुद्ध आफ्नो असली गुण देखाएको थियो । उनीहरु युवा, तीव्र र उर्जावान टिम हो,' डालिच भन्छन्, 'हामीसँग आफ्नै गुणछ । उनीहरुविरुद्ध हामी उभीने छौँ । आक्रमण नै डिफेन्स भन्ने हामीले सम्झनु पर्छ ।
स्पेनविरुद्ध फरवार्ड इभान पेरिसिचले खेल्ने छैनन् । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् ।
नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बरमा स्पेनले क्रोएसियालाई ६-० ले हराएको थियो । २०१८ कै नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३-२ ले हराएको थियो ।
क्रोएसिया तस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुग्न चाहन्छ । स्पेन पछिल्लो तीन ठुला प्रतियोगिताको अन्तिम आठमा पुग्न असफल हुँदै आईरहेको छ ।