एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको चौंथो खेलमा आज (आइतबार) राति बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।
बेल्जियम समूह 'बी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।
बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।
साविक विजेताविरुद्ध बेल्जियमलाई सहज भने हुने छैन । क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडीले भरिएको पोर्चुगल उपाधि दाबेदार टिम समेत हो ।
तर, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज जित र हार खेलमा निर्भर हुने दाबी गर्छन् ।
'हामी उत्प्रेरक र केन्द्रित छौँ । हामी के गर्ने छौँ । मैले टिममा उर्जा भएको महशुस गरेको छु,' मार्टिनेज भन्छन्, 'पोर्चुगल एक यस्तो टोलि हो जसले द्रुत गतिमा आफु अनुकुल खेल खेल्छ । खेल के हुन्छ खेलमा निर्भर हुन्छ ।'
पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो ।
पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।
समूह चरणमा संघर्ष गरेको पोर्चुगलले बेल्जियमविरुद्ध समेत संघर्ष गर्नु पर्ने हुन्छ । किनकी बेल्जियमको लयात्मक खेलले पोर्चुगललाई गार्हो बनाउन सक्छ ।
'बेल्जियमले गोल गर्छ तर विरलै संघर्ष गर्छ । उनीहरुसँग केहि खेलाडी छन् । जो निकै प्रभावशाली छन्,' पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस भन्छन्, 'मलाई थाहा छ हामीसँग राम्रो प्रतिद्वन्दी छ । यो फाइनल जस्तै हो खेल्नका लागि हैन जित्नका लागि खेल्छौं ।'
बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।
प्लेयर्स टु वाच -
क्रिस्टियानो रोनाल्डो – पोर्चुगल
पोर्चुगलले बेल्जियमविरुद्ध टिमको मुख्य खेलाडीको रुपमा रोनाल्डोलाई अघि सार्ने छ । रोनाल्डोले जारी युरोको ३ खेलमा ५ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
बेल्जियमलाई रोनाल्डो रोक्नु मुख्य चुनौती रहेको छ । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले जारी युरोमा थुप्रै कीर्तिमान भङ्ग गरिसकेका छन् । केहि कीर्तिमान भङ्ग गर्ने तयारीमा छन् ।
युरोपियन च्याम्पियनसिपमा ५ संस्करण खेल्ने खेलाडीको कीर्तिमान पोर्चुगिज कप्तान रोनाल्डोसँग रहेको छ । युरोकपमा सर्वाधिक धेरै गोलकर्ताको कीर्तिमान समेत रोनाल्डोले बनाए । राष्ट्रका लागि सर्वाधिक धेरै गोल गर्ने पुरुष खेलाडीको कीर्तिमानसँग उनले बराबरी गरिसकेका छन् ।
३६ वर्षीय रोनाल्डो सिरी ए क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । त्यसअघि रोनाल्डोसँग रियल मड्रिडबाट ९ वर्ष र म्यानचेस्टर युनाईटेडबाट ६ वर्ष खेलेको अनुभव छ ।
रोनाल्डोले पोर्चुगलको सिनियर टोलीबाट १ सय ७८ खेल खेल्दै १ सय ९ गोल गरेका छन् ।
केभिन डे ब्रुएना – बेल्जियम
चोटका कारण प्लेमेकर ब्रुएनाले रुसविरुद्धको पहिलो खेल गुमाए । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएनले च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्ध चोट बोकेका थिए ।
तर, डेनमार्कविरुद्धको दोस्रो खेलबाट उनी मैदान फर्किए । ब्रुएना फर्किएपछि बेल्जियमको खेल थप उत्कृष्ट बनेको छ । त्यसैले पोर्चुगलविरुद्ध बेल्जियमले ब्रुएनालाई मुख्य हतियारको रुपमा अघि सार्ने छ ।
टोलीका उपकप्तान समेत रहेका ब्रुएना विश्व फुटबलमा अब्बल मिडफिल्डरका रुपमा हेरिन्छ । उनी गोल गर्न समेत माहिर छन् । जारी युरोको २ खेलमा उनले १ गोल गरिसकेका छन् ।
ब्रुएनाले सन् २०१५ यता सिटीबाट खेलिरहेका छन् । उनले बेल्जियमको उमेर समूहको यू-१८, १९, २१ बाट खेलिसकेका छन् । उनले सिनियर टोलीबाट ८२ खेल खेल्दै २२ गोल गरेका छन् ।