एजेन्सी । प्रि-क्वाटरफाइनलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्यो ।
शनिबार राति अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरेको हो ।
उपाधि दाबेदार मानिएको इटालीलाई अष्ट्रियाविरुद्ध जित निकाल्न भने अतिरिक्त समयसम्म कुर्नु पर्यो ।
अष्ट्रियाविरुद्धको जितपछि इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले टिमका लागि खेल निकै कठिन भएको तर टिम जितका लागि हकदार भएको बताए ।
'हामीले यसलाई घर ल्यायौं । किनकि हामी हकदार थियौं,' खेलपछि मान्सिनीले भने, 'हामीले दुई गोल अगाडी नै गर्नु पर्थ्यो । अतिरिक्त समयमा जानु हुँदैन थियो । तर, हामी हकदार छौँ ।'
वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए ।
'मलाई थाहा थियो यस खेल कठिन हुनेछ । सम्भवत क्वाटरफाइनल भन्दा धेरै । हामीले राम्रो खेल्यौं । योग्य थियौं,' उनले थपे ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।
मान्सिनीले दुबै टिम कठिन टिम उत्तिकै रहेको समेत बताए ।
'दुबै टिम असाधारण टोली हुन् । त्यसैले एक टिम छनोट गर्न गाह्रो छ,' उनले भने ।
मान्सिनीको नेतृत्वमा इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।
इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १-० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।