एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (बुधबार) राति स्पेनले स्लोभाकियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
समूह 'ई' मा रहेको स्पेनले घरेलु मैदानमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यस खेल महत्वपूर्ण रहेको छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । बराबरीमा रोकिएको खण्डमा पनि स्पेन नकआउट चरणमा पुग्नेछ । तर, स्विडेन पोल्याण्डसँग पराजित हुनु हुँदैन ।
स्लोभाकियाविरुद्ध मैदान उत्रदा स्पेन पहिलो जितको खोजीमा समेत हुनेछ ।
पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकिया दोस्रो खेलमा स्विडेनसँग १-० ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
स्विडेन ४ नाक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ ।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।