एजेन्सी । अर्जेन्टिनाको मार्डे डे सिउडाडेस स्टेडियममा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको प्रतिमा (मुर्ति) राखिएको छ ।
विश्वकप छनोट अन्तर्गत चिलीविरुद्धको खेलअघि म्यारोडोनाको प्रतिमा सार्वजनिक गरिएको थियो । शुक्रबार बिहान भएको उक्त खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ गोलको बराबरी खेलेको छ ।
म्यारोडोनाको सम्मानमा प्रतिमा स्थापना गरिएको हो ।
म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।
त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए ।
इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई 'ह्यान्ड अफ गड' भन्ने गरिन्छ । किनकी उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।
अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।
उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।
म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।
अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए ।
त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए ।
यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।
नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए ।
उनले क्लब फुटबलको अन्त्य साम १९९७ मा बोका जुनियर्सबाट गरेका थिए ।