कुवेत । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कोरोना महामारीको रोकथाममा खटिएका अग्रपङ्तीका फ्रन्टलाईनरलाई नेपालको जित समर्पण गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत बिहिबार चाईनिज ताईपेविरुद्ध जित हासिल गरेपछि प्रशिक्षक अब्दुल्लाहले नेपालको जित फ्रन्टलाईनरमा खटिने स्वास्थ्यकर्मीमा समर्पण गरेका हुन् ।
‘नेपाल निकै कठिन अवस्थामा छ । अग्रपङ्तीमा रहेर काम गर्ने सम्पुर्णमा नेपालको जित समर्पण गर्न चाहन्छु ।’ अब्दुल्लाहले खेलपछि भने ।
अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले विश्वकप छनोटको दोस्रो लेगमा समेत ताईपेलाई २–० ले पराजित गरेको हो ।
कोभिड संक्रमणका लागि नेपालले विश्वकप र एसिया कप छनोटका बाँकी खेल कुवेतमा खेलिरहेको छ ।
पहिलो औपचारिक प्रतियोगितामा सुखद सुरुवात गरेका प्रशिक्षक अलमुताईरीले नेपालको जित कोभिडविरुद्धको लडाँईमा रहेका फ्रन्टलाईनरमा समर्पण गरे ।
प्राप्त जितसंगै एसियाली छनोटको समूह बीमा रहेको नेपालले ६ खेलबाट ९ अंक जोडेको छ । र एसिया कप छनोटको सम्भावना बलियो बनाएको छ ।
उनले ताईपेविरुद्धको खेल नेपालका लागि निकै महत्वपुर्ण रहेको बताए ।
‘ताईपेले धेरै राम्रो खेल्यो । खेल निकै महत्वपुर्ण थियो ।’ उनले भने, ‘हामीले उनीहरुका सबै खेल अध्ययन गरेका थियौं । धेरै कक्षाहरु ताईपेको खेलको अध्ययन र खेलाडीबारे बुझ्न खर्च गरेका थियौं ।’
उनले ताईपेलाई सरप्राईज दिन टिममा केही परिवर्तन गरिएको बताए ।
अब्दुल्लाहले ईराकविरुद्ध मैत्रीपूर्ण खेलमा उतारेका सुरुवाती खेलाडीमा दुई परिवर्तन गरेका थिए । मनिष डाँगीको स्थानमा सुनिल बललाई राखेका उनले अग्रपङ्तीमा नवयुगको स्थानमा आशिष लामालाई मौका दिएका थिए ।
‘ताईपेलाई सरप्राईज दिन चाहन्थे । उनीहरु हाम्रा धेरै खेलाडीको अध्ययन गरेका थिएनन् । त्यही सरप्राईज म दिन चाहन्थे ।’ उनले पत्रकारसमक्ष भने ।
उनले ताईपेले नेपालविरुद्ध धेरै राम्रो खेल प्रर्दशन गरेको बताए ।
‘ताईपेले धेरै राम्रो खेल्यो । खेल निकै प्रतिस्पर्धात्मक थियो । जित निकै महत्वपुर्ण रह्यो ।’ उनले थपे ।
मुख्य प्रशिक्षक अब्दुल्लाह युवा खेलाडीलाई टिममा समावेश गर्दै राष्ट्रिय टिमको निर्माण गरेका हुन् । टिममा अधिकांश युवा खेलाडी छन् । उनले ६ नयाँ अनुहारलाई राष्ट्रिय टिममा समावेश गरेका छन् भने आशिष लामा लगायतका खेलाडी लामो समयपछि राष्ट्रिय टिममा फर्किएका छन् ।
नेपालले विश्वकप छनोट अन्तर्गत कुवेती भूमीमा अब जोर्डन र अष्ट्रेलियासंग खेल्नेछ ।