काठमाडौं । राष्ट्रिय फुटबल टिममा सधै राम्रा फरवार्डको अभाव देखियो । नेपालले जब लामो समय गोलको खडेरी ब्यहोर्छ, तब राम्रा फरवार्ड नभएको बहस घरेलु फुटबलमा मुर्झाउने गर्छ ।
यसो पनि भनौं न, आखिर फुटबल प्रशिक्षकको खेल हो । प्रशिक्षककै रणनीति र खेल्ने शैलीमा धेरै कुरा निर्भर रहन्छ । मैदानमा त्यही देखिन्छ, जस्तो प्रशिक्षक चाहन्छन् ।
जति पनि फुटबल प्रशिक्षक नेपाल आए, त्यसमा धेरैले रक्षात्मक फुटबलमै जोड दिए ।
सायद त्यसकै असर हाम्रो अग्रपङ्तीमा पनि पर्यो कि ?
फरवार्डहरुले विस्तारै गोल गर्ने आत्मविश्वास गुमाउँदै गएको कारण एउटा यो पनि हुन सक्छ । हामी रक्षात्मक फुटबलमै केन्द्रित हुदाँ कतै फरवार्ड लाईन बलियो बनाउन त बिर्सिएनौं ?
नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्दैछ । पहिलो खेलमा आज (बिहीबार) चाईनिज ताईपेसँग भिड्दैछ । नेपालले खेल्ने माथिल्लो स्तरको प्रतियोगिता भनेकै विश्वकप छनोट हो । जहाँ विश्वकप खेलेका अष्ट्रेलियादेखि जोर्डन र कुवेत जस्ता माथिल्ला स्तरका प्रतिद्धन्दीलाई भेट्न पाईन्छ ।
चाईनिज ताईपे नेपालका लागि नयाँ–नयाँ प्रतिद्धन्दी हो । नेपालले मात्र दुई खेल ताईपेविरुद्ध खेलेको छ । विश्वकप छनोटको तयारीको क्रममा एक मैत्रीपूर्ण र अर्को औपचारिक प्रतियोगिताकै खेल ।
फिफा वरियतामा आफु भन्दा माथि रहेको ताईपेविरुद्ध नेपालको प्रर्दशन र नतिजा भने सकारात्मक छ । अर्थात नेपालले दुवै खेलमा जित निकालेको छ ।
खेलकुद आखिर जित्नका लागि खेल्ने हो । फुटबलमा जित्न गोल चाहिन्छ । नेपालले ताईपेविरुद्ध दुवै खेलमा गोल गरेको छ । पहिलो मैत्रीपूर्ण खेलमा अभिषेक रिजालले ताईपेविरुद्ध गोल गरेका थिए । सो खेल नेपालले १–० ले जितेको थियो । विश्वकप छनोटको पहिलो लेगको अर्को खेलमा नेपालले ताईपेलाई २–० ले हरायो । सो खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।
राष्ट्रिय फुटबल टिममा नयाँ प्रशिक्षक छन्, अब्दुल्लाह अलमुताईरी । उनी नयाँ टिम निर्माणको क्रममा छन् । सो टिममा भाग्यवस ताईपेविरुद्ध दुवै खेलमा गोल गर्ने खेलाडी छन् । अभिषेक र अन्जन अलमुताईरीको टिमका मुख्य हिस्सा हुन् ।
अलमुलाईरी प्रशिक्षकको रुपमा ईराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरे । ईराकविरुद्ध उनले आफ्नो फस्ट इलेभेन निकाले । जसमा अन्जन विष्ट समेत समावेश थिए । अन्जनले अलमुताईरीको निर्णयलाई सही सावित पनि गरे । बलियो ईराकविरुद्ध गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । उनी एक पटक वान भर्सेस वानमा चुके । प्रशिक्षक अलमुताईरी सोही गोलमा चुक्नुलाई ईराकविरुद्धको खेलको टर्निङ प्वाईन्ट मान्छन् ।
नेपालको फरवार्ड लाईनलाई लिएर सधै चिन्ता रहन्छ । अन्जन पछिल्लो समय नेपाली टिमका निर्विकल्प फरवार्ड जस्तो देखिएका छन् । विङ्गरको भूमिका उत्तिकै न्याय गर्ने अन्जन फरवार्डमा समेत गज्जबले खेल्छन् । यस्तै खेलाडी अलमुताईरीलाई अझ मन पर्छ ।
नेपालले बिहीबार ताईपेविरुद्ध खेल्दैछ । सबैको नजर पहिलो लेगमा ताईपेविरुद्ध दुई गोल गर्ने अन्जनमा छ । अन्जन आफैपनि तुलनात्मक रुपमा अन्य फरवार्ड भन्दा लयमा देखिन्छ । ताईपेविरुद्ध उत्रदा दबाब र आत्मविश्वास दुवै अन्जनसँग हुनेछ । दबाबलाई चिर्दै आत्मविश्वासी भएर खेल प्रर्दशन गरेमा उनले नेपाललाई सफलता दिलाउन सक्छन् ।
अन्जन घरेलु फुटबलका अहिलेका सफल फरवार्ड पनि हुन् । नेपालमा भर्खरै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा उत्कृष्ट फरवार्ड घोषित भएका थिए । एनएसएलमा ललितपुर सिटी एफसीलाई उपाधि होडमा फर्काउन उनको योगदान महत्वपुर्ण थियो ।
तथ्यगत रुपमा अन्जन वर्तमान राष्ट्रिय फुटबल टिमका सबैभन्दा अनुभवी फरवार्ड हुन् । त्यसैले सबैभन्दा बढी जिम्मेवारी र अपेक्षा अन्जनसंग हुनु स्वभाविक देखिन्छ । फरवार्डको रुपमा राष्ट्रिय टिमबाट सबैभन्दा बढी खेल अन्जनलेनै खेलेका छन् । उनले राष्ट्रिय टिमबाट ३७ खेल पुरा गरेका छन् । त्यसपछि नवयुग श्रेष्ठ ३० खेल सहित अन्जनलाई पछ्याईरहेका छन् । अभिषेकले १० र अर्का फरवार्ड आशिष लामाले राष्ट्रिय टिमबाट एक खेल पूरा गरेका छन् ।