एजेन्सी । बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुएनले युरोकप फुटबलको पहिलो खेल गुमाउने भएका छन् ।
च्याम्पियन्स लिगको फाइनल खेल दौरान बोकेको चोटको कारण ब्रुएनले पहिलो खेल गुमाउने भएका हुन् ।
युरोकपको पहिलो खेलमा बेल्जियमले रुससँग जुन १२ मा खेल्नेछ ।
बेल्जियमको मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्रुएन पहिलो खेलका लागि फिट नहुने बताए ।
'केभिन पहिलो खेलका लागि फिट हुने छैनन् । केभिनबारे अर्को हप्तासम्म हामीले केहि भन्न सक्ने अवस्था छैन । अहिले हामीले उनलाई आराम दिनु पर्छ,' मार्टिनेजले भनेका छन् ।
यस्तै प्रशिक्षक मार्टिनेजले ब्रुएनलाई जान भर्टोनगेनको जस्तो मास्क लगाएर खेलाउने सम्भावना रहेको समेत बताए ।
पोर्टोमा भएको च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँग जुद्धा ब्रुएनले चोट बोकेका थिए ।
जुन खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हराएर च्याम्पियन्स लिग जितेको थियो ।
उनको नाक र आँखाको तल्लो भागमा चोट लागेको छ ।
यस्तै बेल्जियमले समूह चरणको दोस्रो खेलमा डेनमार्कसँग जुन १७ र फिनल्याण्डसँग जुन २१ मा खेल्नेछ ।