काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।
एसिया कपको छनोट खेल्ने सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ । पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली टिममाथि जित्नैपर्ने मनाेबैज्ञान देखिन्छ ।
प्रशिक्षक र खेलाडी समेत ताईपेविरुद्धको खेल महत्वपुर्ण रहेकाे मान्छन् । कुवेत भ्रमणमा शानदार सुरुवात सहित नेपाली टिम विश्वकप छनोटका बाँकी खेल अघि बढाउन चाहन्छ ।
नेपालले पहिलो लेगको खेल ताईपेमा खेलेको थियो । अन्जन विष्टको दुई खेलमा नेपालले घरेलु टोलीमाथि २–० को शानदार जित निकालेको थियो । तर दोस्रो लेगमा भिड्दै गर्दा दुवै टिममा ब्यापक परिवर्तन देखिन्छ ।
नेपाली टिमले केही खेलाडीलाई राष्ट्रिय टिममा पुनरागमन गर्दै ६ नयाँ अनुहारलाई समेटेको छ । ताईपेले समेत घरेलु कारणले पहिलो लेगका धेरै अनुहारलाई वर्तमान टिममा स्थान दिन सकेन ।
ताईपेविरुद्ध उत्रदै गर्दा नेपालका लागि मनिष डाँगीमा सबैको नजर हुनेछ । तिव्र गतिमा बल खेल्न सक्ने खुबीका कारण प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मनिषमाथि भर गरेको देखिन्छ । पछिल्लो मैत्रीपूर्ण खेलमा समेत उनले मनिषलाई सुरुवाती ११ मा डेब्यु गराए ।
मनिषले समेत ईराकविरुद्ध एक गोल गरे । डेब्यु खेलमै गोल गरेर मनिषले सबैको ध्यान आफुमा खिचेका छन् र राष्ट्रिय टिममा लामो यात्रा गर्ने संकेत गरेका छन् । यता ताईपेका अनुभवी खेलाडी चेन यी वेई खेलमा हेर्न लायका विपक्षी टिमका अर्का खेलाडी रहेका छन् ।
मनिष डांगी
मैत्रीपूर्ण खेलमा इराकविरुद्ध डेब्यु खेलमा गोल गरेका खेलाडी हुन्, मनिष डांगी । पहिलो पटक राष्ट्रिय टोलीमा परेका १९ बर्षीय युवा मिडफिल्डर मनिषले डेब्यु खेलमै गोल गरेका थिए । उनले इराकविरुद्ध २९ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।
कोरियाको एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेका मनिष पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । विंगरको समेत भुमिमा सहजै निभाउन मनिष प्रशिक्षकको रणनीति अनुसार सेन्टर फर्वाड समेत खेल्न सक्छन् । इराकविरुद्ध सेन्टर फर्वाडको भुमिकामा रहेका नवयुग श्रेष्ठलाई विंगरमा झार्दै मनिषले गोल गरेका थिए ।
तिव्र गतिको दौडन सक्ने, विपक्षी डिफेण्डरलाई सहजै बिट गर्ने, बल ड्रिबल र नियन्त्रणमा मनिष बलिया देखिन्छन् । ताईपेविरुद्ध प्रशिक्षक अब्दुल्लाहको काउन्टर रणनीतिलाई मनिषले न्याय गर्न सक्नेछन् । हाल सम्म नेपालको शीर्ष डिभिजनको ए डिभिजन लिगको अनुभव प्राप्त नगरेका मनिषले पहिलो संस्करणको सुपर लिग भने बैकल्पिक खेलाडीको रुपमा विराटनगर सिटी एफसीबाट ६ खेल खेलेका थिए ।
चेन यी वेइ
ताईपेको अनुभवी खेलाडी हुन्, चेत यी वेइ । ३४ बर्षीय चेनले छनोट अन्तर्गत अष्टे«लियाविरुद्ध गोल समेत गरेका थिए ।
अष्ट्रेलियाविरुद्ध उनले गोल गर्दा कुनै समय ताईपे २–१ को अवस्थामा थियो । मिडलाईनमा बल कन्ट्रोल र होल्डिङ गर्ने तथा अग्रपंक्तिमा चेनले बल सहजै उपलब्ध गराउने गर्दछन् । राष्ट्रिय टोलीबाट ५१ खेल खेलिसकेका चेनले दुई गोल गरेका छन् ।
चेन घरेलु लिगमा ताई पावरबाट खेल्ने गर्छन् । चेनले कुनैपनि समय नेपाली टिमलाई समस्यामा पार्न सक्छन् ।