एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका नवनियुक्त मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले कप्तान तथा डिफेन्डर सर्जियो रामोस बिनाको रियल कल्पना गर्न नसकिने बताएका छन् ।
रामोसले रियल छाड्ने चर्चा चलिरहेको बेला मुख्य प्रशिक्षक एन्सेलोटीले उनी बिनाको रियल कल्पना गर्न नसकिने बताएका हुन् ।
'म सर्जियो रामोस बिना रियल मड्रिडको कल्पना गर्न सक्दिन', एन्सेलोटीले भनेका छन्, 'स्पस्ट छ की रामोस धेरै महत्वपूर्ण खेलाडी हुन् । क्लबको धेरै सफलतामा उनी आधार बनेका छन् ।'
स्पेनिस डिफेन्डर रामोस सन् २००५ मा सेभियाबाट रियल आएका थिए । त्यसयता उनी निरन्तर रियलमा रहदै आएका छन् ।
तर, पछिल्लो समय रामोसले रियल छाड्ने हल्ला चलेको छ । उनी यसै समरमा रियल छाड्ने चर्चा चलेको थियो ।
यस्तै एन्सेलोटीले रामोससँग सम्झौता नवीकरणको लागि कुरा भईरहेको बताए ।
'मलाई थाहा छ नविकरणबारे वार्ता भइरहेको छ । तर, मलाई पूर्ण विवरणहरू थाहा छैन,' उनले भने ।
रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियलमा रहने छन् ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लब फर्काएको हो ।
एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए ।
६१ वर्षीय अनुभवी प्रशिक्षक पछिल्लो समय इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।