काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।
'छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले खेल जित्न चाहन्छौ ।' प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, 'धेरै मैत्रीपूर्ण खेल पाएनौं । हामीसँग युवा टिम छ । प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।'
अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने बताए ।
'कुवेतको मौषममा खेल्न सहज छैन । दुबै टिमका लागि कठिन हुनेछ ।' प्रशिक्षक अलमुताईरीले भने ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।
समूह 'बी' मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।
४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।
पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।
ताइपेका प्रशिक्षक भोम का हुमले नेपालसँगको खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताए ।
'यहाँको मौषम अनुकुल हुन कठिन भईरहेको छ । र, हाम्रो लागि मुख्य चुनौती मौषम हो ।' उनले भने ।
प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाको कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत बताए ।
ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो । दु
नेपाल र ताईपेबीचको हेड टु हेड :
पहिलो भेट :
२०७६ साल जेठ २४ गते, नेपाल १–१ ताईपे (अभिषेक रिजाल)
दोस्रो भेट :
२०७६ साल भदौ २४ गते, नेपाल २–० ताइपे (अन्जन बिष्ट)
समूहमा नेपालको प्रदर्शन :
१, कुवेत ७–० नेपाल
२, ताईपे ०–२ नेपाल
३, अष्ट्रेलिया ५–० नेपाल
४, जोर्डन ३–० नेपाल
५, नेपाल ०–१ कुवेत
समूह चरणमा ताईपेको प्रदर्शन :
ताईपे १–२ जोर्डन
ताईपे ०–२ नेपाल
ताईपे १–७ अष्ट्रेलिया
कुवेत ९–० ताईपे
जोर्डन ५–० ताईपे