नमीन ढकाल ।
स्टेफेन कोन्स्टाइन । धेरै फुटबल प्रशंसकले सन् १९९० को दशकका यि बेलायती प्रशिक्षकलाई बिर्सिसके होलान् !
तर, कोन्स्टाइनले नेपाल बिर्सिएका छैनन् ।
पहिलो पटक उनले राष्ट्रिय फुटबल टिम सम्हाल्ने अवसर पाएका थिए, त्यो नेपाल थियो ।
अझ उनले नेपालमा जुन सम्मान पाए, त्यो आफैमा ऐतिहासिक थियो ।
ग्रिक– साइप्रियोट मुलका बेलायती कोन्स्टाइनका लागि भने नेपाल सदैव यागदार छ भन्ने प्रमाण हो २९ अप्रिल २०२० त्यो ट्वीट ।
जहाँ राजा विरेन्द्रले उनलाई पदक लगाइरहेका थिए । छेउमा उभिएका थिए, तत्कालिन युवराज दिपेन्द्र । दुई दशक अघिको त्यो नोस्टाल्जिया फोटोको क्याप्सन थियो ‘मेरो जीवनको एउटा गर्विलो क्षण’ । त्यो प्रवल गोर्खा दक्षिण बाहु थियो ।
जुन पदक पाउने उनी पहिलो र एक मात्र फुटबल प्रशिक्षक थिए । कोन्स्टाइनले सन् १९९८ को आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली टिमलाई रजत पदक दिलाएका थिए । त्यही प्रर्दशनको आधारमा राजा विरेन्द्रले उनलाई प्रवल गोर्खा दक्षिण बाहु पदकले सम्मान गरे ।
दुई दशक अघि पदक पाएपछि कोन्स्टाइनले भनेका थिए 'यो पूर्ण रूपमा अप्रत्याशित थियो र अहिले पनि म यो विश्वास गर्न सक्दिन । मलाई भनिएको थियो कि म यो पुरस्कार पाएको पहिलो र एकमात्र फुटबल प्रशिक्षक हुँ र म खुसी छ । उनीहरूले मलाई भने कि यो नेपाली फुटबल विकासको लागि हो ।’
११ बर्ष अघि दिएको अन्तवार्तामा कोन्स्टाइनले नेपाल, नेपाली फुटबल र स्व राजा विरेन्द्रको तारिफ गरेका छन् । ‘नेपाल एक अद्भुत ठाउँ हो र मानिसहरू पनि यत्तिकै राम्रो छन्, मैले विश्वमा कतै भेटेको छैन । सम्झनाहरु धेरै छन्, स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहद्वारा सम्मानित त्यो पदक जुन कहिल्यै बिर्सने छैन ।’ उनले भनेका थिए, ‘हिमालयबाट उदाएको सूर्यको किरण आफ्नो जीवनमा एकपटक हेर्नुपर्छ । अनि राष्ट्रिय टिमलाई दक्षिण एसियाली खेलकुदको फाइनलसम्म पुर्याउनु पनि एउटा संसार जिते सरहको काम हो । त्यो बेला एभरेष्टसम्म जाने यात्रीको सामान बोक्ने शेर्पाहरुले जानका लागि इन्कार गरेका थिए । किनभने उनीहरु नेपालको खेल गुमाउन चाहँदैन थिए ।’
सन् १९९९ देखि २००१ सम्म नेपालमा बिताएका कोन्स्टाइनले उपाधि दिलाउन नसकेपनि दुई वटा प्रतियोगिताको उपाधि नजिक पुर्राएका थिए । सन् १९९९ को साग र सन् २००० को एन्फा कप ती दुई प्रतियोगिता थिए । उनले नेपालको उमेर समुहको टिमलाई पनि प्रशिक्षण दिएका थिए ।
ग्रिक– साइप्रियोट मुलकका बेलायती कोन्स्टाइनको खेलाडी जीवन सुखद थिएन । १६ वर्षको उमेरमा प्रिमियर लिग क्लब चेल्सीमा सेन्ट्रल मिडफिल्डरको रुपमा ह्याट्रिक समेत गरेका थिए । तर ६ हप्तापछि उनी छनौट नभएको चिठ्ठी हात लाग्यो ।
इङल्यान्डमा एनफिल्ड, साइप्रस र संयुक्त राज्य अमेरिकामा अर्ध–व्यवसायीक फुटबल खेलका थिए । लिगामेन्टको चोटपछि उनले २६ बर्षको उमेरमा फुटबल करियर छाडेर प्रशिक्षण सुरु गरे । केही समय साइप्रसमा प्रशिक्षणपछि उनको यात्रा नेपालतर्फ मोडिएको थियो ।
इङल्यान्ड फुटबल एसोसिएनसले उनलाई नेपालको मुख्य प्रशिक्षकको रुपमा पठाएको थियो । माओवादी आन्दोलन चरम उत्कर्षको बेला कोन्स्टाइन नेपाली फुटबलमा प्रशिक्षक बनेर आए । तत्कालिन समयमा उनलाई मासिक रुपमा ३ हजार अमेरीकी डलर तलब दिइएको थियो । त्यसपछि भने कोन्स्टाइनको प्रशिक्षण करियरले उचाइ लियो ।
‘मैले फुटबल संघबाट एउटा पत्र पाए । जसमा मलाई एसियामा कोचिङ गर्न इच्छुक छौ कि छैनौ भनेर सोधिएको थियो । मलाई त्यस्तै अवसरको खाँचो भएकाले स्विकारे ।’ कोन्स्टाइनले भने, ‘कम्बोडियाबाट फ्याक्स प्राप्त गर्दा म न्युयोर्क आइपुगेको थिए । र मलाई नर्थ क्यारोलिनाबाट जागिरको प्रस्ताव पनि आएको थियो । यो हुँदै गर्दा कसैले एएफसीमा मलाई सिफारिस गरिदियो र एएफसीबाट नेपालमा । धेरै फोन वार्तापछि म काठमाण्डौ पुगे र दुई दिनमा आफ्नो काम पनि सुरु गरे ।’
नेपाल लगत्तै १८ वर्षको अवधिमा अन्य ४ देशका टिम र ५ वटा क्लब सम्हाले । नेपाल पछि ३ वर्ष उनले भारतीय टिमको प्रशिक्षक बनेर बिताए । उनी टिमलाई सम्हाल्न जादासम्म भारतीय टिमसंग किट स्पोन्सर थिएन । नाईकसंग ५ मिलियन पाउण्डमा सम्झौता गरे । ४२ वर्षपछि भारतीय टिमलाई पहिलो उपाधि दिलाए । एलजीकपमा भारतले भियतनामलाई २–० ले हराएको थियो ।
भारत छाडेपछि एक बर्ष मिलवाल टिम सम्हाले । जुन क्लबबाट अष्ट्रेलियन स्टार टिम काहिलले सिनियर फुटबल करियर सुरु गरेका थिए । यद्धपी कोन्स्टाइन क्लबमा जाँदा काहिलले मिलवाल छाडेर एर्भटन गइसकेका थिए ।
सन् २००७–०८ मा उनले अफ्रिकन मुलुक मलाबीको राष्ट्रिय टिम सम्हाले । जहाँ देशले अफ्रिकी कप अफ नेशन छनौट र अन्य केही प्रतियोगिता खेल्यो । टिमलाई राम्रो नतिजा दिलाउन नसकेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि सुडान टिम सम्हाल्दा पनि नतिजा राम्रो आएन ।
सन् २०१० पछि उनको प्रशिक्षक करियर उकालो लाग्यो । उनको प्रशिक्षणमा क्लब र देशले उत्कृष्ट नतिजा निकाल्यो । सुडान छाडे लगत्तै साइप्रियोट लिग क्लब निया सालामिसलाई डिभिजन टु वाट बढुवा गरे । सन् २०१४ बाट रुवान्डाको राष्ट्रिय टोलीलाई सम्हाले । उनकै कालमा रुवान्डा फिफा वरियताको ६८ औ स्थानमा रहन सफल रहयो । जुन त्यसअघिको सवैभन्दा उच्च वरीयता थियो ।
सन् २०१५ को अफ्रिका कप अफ नेशनका छनौटमा बलियो मानिएको कंगो र लिवियालाई हराउँदै तेश्रो चरणमा प्रवेश गरेको थियो । तर टिमका स्ट्राइकर ड्याडी बिरोरीको पासपोर्ट प्रकरणका कारण टोलीले अफ्रिका कपको मौका गुमायो । उनले अफ्रिकन फुटबल कन्फिडिरेसनमा यस बारेमा अपिल समेत गरे तर नतिजा अनुकुल नआएपछि पुनः भारत फर्किए ।
भारतीय टिमबाट दोश्रो इनिङ नेपालविरुद्धको खेलबाटै सुरु भयो । सन् २०१५ मार्च १२ मा विश्वकप छनोट अन्र्तगत कोन्स्टाइनकै प्रशिक्षणमा रहेको टिमले इन्दिरा गान्धी रंगशालामा नेपाललाई २–० ले हरायो । जहाँ दुवै गोल सुनिल क्षेत्रीको नाममा थियो । त्यसलगतै नेपाली भुमिमा बराबरी खेल्यो । नेपालविरुद्धको नतिजाकै कारण भारत २६ औं स्थान सुधार गर्दै १४७ औ वरियतामा पुगेको थियो ।
उनले भारतलाई सन् २०१५ को साफको उपाधि दिलाए । सन् २०१६ मा भएको एसिया कप छनोटमा लाओसविरुद्धको जितपछिका १३ खेलमा अपराजित यात्राको रेकर्ड बनायो । जसका कारण सन् २०११ पछि एसिया कपमा छनौट हुन सफल रहयो ।
सन् २०१८ मा केन्यालाई हराउँदै उनले भारतलाई अन्तर महादेशीय कप समेत जिताएका थिए ।
उनले १७३ औ स्थानमा रहँदा भारतीय टिम सम्हालेका थिए । कोन्स्टाइनले भारतलाई ९७ औ वरियतासम्म पुर्राएका थिए । सन् २०१८ मार्चमा फुटबल पत्रकारको संस्था फुटबल राइटर एसोसिएनले आयोजना गर्ने बुक अफ दि इयरमा कोन्स्टाइनको आत्मकथा दिल्लीदेखि डेनसम्म मनोनयनमा समेत परेको थियो ।
गत जनवरीमा साइप्रियोट क्लब पाफोसको चिफ अपरेसन अफिसर बनेका कोन्स्टाइन एक महिना लगतै टिमको मुख्य प्रशिक्षक बनेका छन् ।