एजेन्सी । रियल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाले केलियन एमबाप्पे कुनै दिन रियलको खेलाडी बन्ने बताएका छन् ।
एमसिक्सइन्फोसँगको कुराकानीमा बेन्जिमाले एमबाप्पेसँग रियलको खेलाडीमा हुनु पर्ने गुण भएको बताए ।
बेन्जिमाले एमबाप्पे रियलको खेलाडी बन्नेमा आफु आशावादी भएको समेत बताए ।
'रियलमा एमबाप्पे ? के हुन्छ हामी हेर्नेछौँ, तर, उसलाई मड्रिडमा स्वागत छ । उनीसँग रियलका खेलाडीमा हुनु पर्ने सबै गुणहरू छन् । म आशा गर्छु,' बेन्जिमाले भने ।
फ्रान्सका विश्वकप विजेता युवा खेलाडी एमबाप्पे फ्रेन्च क्लब पीएसजीबाट खेलिरहेका छन् । उनको क्लबसँगको सम्झौता २०२२ मा सकिनेछ ।
एमबाप्पेलाई अनुबन्ध गर्नका लागि रियलले प्रयास समेत गरिरहेको छ ।
बेन्जिमा र एमबाप्पेले यस युरोकपमा पहिलो पटक एकै टिमबाट खेल्नेछ ।
रियलका फरवार्ड बेन्जिमा ६ वर्षपछि टिममा परेका हुन् । बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।
उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए ।
एमबाप्पेले भने फ्रान्सका लागि २०१८ को विश्वकप जितिसकेका छन् ।
बेन्जिमाले युरोकपमा युवा स्ट्राइकर एमबाप्पेसँगको सहकार्यका लागि आफु उत्साहित रहेको बताउदै आएका छन् ।