एजेन्सी । अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने योजना बनाएका छन् ।
पोचेटिनोले नयाँ सिजनको सुरुवात नहुँदै क्लब छाड्ने योजना बनाएको फुटबलको वेबसाइट गोल डटकमले जनाएको छ ।
पोचेटिनोले क्लब छाड्ने योजनाबारे पीएसजीको बोर्डमा सूचित गरिसकेको समेत गोल डटकमले जनाएको छ ।
पोचेटिनोको फ्रेन्च क्लबसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
पछिल्लो समय पोचेटिनो इंग्लिस क्लब टोटेनहम र स्पेनिस क्लब रियल मड्रिडसँग जोडिएका छन् । दुबै क्लबले पोचेटिनोलाई मुख्य प्रशिक्षकको रुपमा अघि सारेको बताईएको छ ।
टोटेनहमका पदाधिकारीले क्लब फर्काउन पोचेटिनोसँग भेट गरेको समेत बताईएको छ ।
पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो ।
पोचेटिनोलाई बर्खास्त गरेर टोटेनहमले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।
तर, गत महिना मोरिन्हो बर्खास्तीमा परिसकेका छन् । टोटेनहम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
मोरिन्हो भने इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।