एजेन्सी । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लबसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएपछि टुचेलले क्लबसँग सम्झौता नवीकरण गर्न लागेका हुन् ।
जर्मन प्रशिक्षक टुचेलले केहि दिनमा चेल्सीको बोर्ड टिमसँग भेट गर्ने र नयाँ सम्झौता गर्ने बताईएको छ ।
टुचेलले २०२३ सम्म चेल्सीसँग सम्झौता गर्ने बताईएको छ । यस्तै उनलाई थप एक वर्षको सम्झौता थप गर्नका लागि विकल्प रहने बताईएको छ ।
चेल्सीले गत जनवरीमा फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिग जिताएका हुन् । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो ।
टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक समेत हुन् ।
गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए । तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो ।