एजेन्सी । मिडफिल्डर मेसन माउन्टले चेल्सी विश्वकै उत्कृष्ट टिम भएको बताएका छन् ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि बोल्दै मिडफिल्डर माउन्टले चेल्सी विश्वको उत्कृष्ट टिम भएको दाबी गरेका हुन् ।
शनिबार राति भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको थियो ।
'यो समय हामी विश्वकै सर्वोत्कृष्ट टिम हौँ । तपाईले हामीबाट टाढा लैजान सक्नु हुन्न,' माउन्टले भने ।
चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । उनले माउन्टको पासमा गोल गरेका थिए ।
यस्तै माउन्टले चेल्सीबाट उपाधि जित्ने सपना पूरा भएको समेत बताए ।
'म यसलाई शब्दमा बयान गर्न सक्दिन । यो असम्भव । मैले चेल्सीको लागि दुई फाइनल खेलेको छु र हामीले दुबै गुमायौं,' उनले भने, 'मैले चेल्सीको लागि उपाधि जित्ने सपना देखेको थिएँ । पूरा भयो। यो विशेष अवसर हो ।'
चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।