काठमाडौं । राष्ट्रिय टिमको डेब्यु खेलमै गोल गरेका युवा खेलाडी मनिष डाँगीले इराकसँगको खेलमा राम्रो अनुभव बटुलेको बताएका छन् ।
एसियाली पावर हाउस इराकसँगको मैत्रीपूर्ण खेलपछि बोल्दै मनिषले ठुलो टिमसँग राम्रो नजिता आउन नसकेपनि राम्रो अनुभव प्राप्त गरेको बताएका हुन् ।
घरेलु टिमसँगको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । इराकविरुद्ध मनिषले एक गोल गरेका थिए ।
‘खेल राम्रो भयो । आफुभन्दा राम्रो राम्रो खेलाडी थिए । रिजल्ट राम्रो नभएपनि । राम्रो अनुभव पाए ।’ खेलको २९ औं मिनेटमा काउण्टरमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका मनिषले भने ।
तर, नेपालले २–१ अग्रता जोगाउन नसक्दा फराकिलो हार व्यहोर्न पुग्यो ।
नेपालको लागि मनिषले एक गोल गर्दा इराकका अहमेद इब्राहिमले एक आत्माघाति गोल उपहार दिए । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । यस्तै कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।
सी डिभिजन क्लबमा खालीबारी युथ क्लबबाट खेल्दै उमेर समूहको यू-१८ र १९ प्रतियोगिता खेलेका मनिष सिधै राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएको हो ।
नेपालका लागि कुवेती प्रो लाईसेन्स प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मनिषलाई पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकेका थिए ।
मनिष पहिलो पटक टोलीमा स्थान बनाउँदै पहिलो खेलको सुरुवाती एघारमै अटाएका थिए । मनिष डेब्यु खेलमै डेब्यु गोल गर्न सफल रहे ।
राष्ट्रका लागि पहिलो गोल गरेका मनिषले खेलपाटीसँग बोल्दै खुसीसँगै दुखी पनि भएको र भविष्यमा अझै मेहनत गर्ने बताए ।
‘खुसीसँगै दुखी छु । किन भने रिजल्ट आउन सकेन । भविष्यमा अझै मेहनग गर्छु ।’ मनिषले भने ।