काठमाडौं । मिडफिल्डर मनिस डाँगी र डिफेन्डर गौतम श्रेष्ठले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
घरेलु टिम इराकविरुद्ध खेल्ने टिममा पर्दै मनिस र गौतमले डेब्यु गरेका हुन् ।
नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
एन्फाले इराकविरुद्धको खेलका लागि घोषणा गरेको सुरुवाती-११ मा मनिस र गौतम परेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतार्नेछन् ।
नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।
नेपालको सुरुवाती-११
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर -रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर -मनिस डाँगी, पुजन उपरकोटी,सन्तोष तामाङ
फरवार्ड -अन्जन विष्ट, नवयुग श्रेष्ठ,सुमन लामा
डेब्यु खेलाडी कस्ता ?
मनिस डाँगी
दक्षिण कोरोयाको एकेडेमीबाट खेल्दै आएका मनिष गत वर्ष मात्रै घरेलु फुटबलमा चर्चामा आएका थिए । विदाको मौका पारेर खालीबारी युथ क्लबबाट 'सी' डिभिजन लिग खेलेपछि मनिष सिधै उमेर समूहको यू-१८ टोलीमा परेका थिए ।
यू-१८ मा राम्रो प्रदर्शन गरेका मनिषलाई प्रशिक्षक मेघराज केसीले एएफसी यू-१९ छनोटमा स्थान दिए । त्यसपछि नेपालमै भविष्य देखेका मनिषले विराटनगर सिटीबाट पहिलो पटक ठुलो लिग खेलेका हुन् । ६ खेलमा बेन्चबाट सुरुवात गरेपनि उनको खेललाई प्रशिक्षक अब्दुल्लाहले मन पराए । पहिलो पटक राष्ट्रिय टोलीका कल भएका मनिषले पहिलो अवसरमै प्रशिक्षकको मन जित्दै टोलीमा स्थान बनाए ।
मिडलाइनसँगै विंगर र अट्याकमा प्रभाव जमाउन सक्ने मनिषले आगामी दिनमा समेत आफ्नो प्रभाव राष्ट्रिय टोलीमा देखाउन सक्छन् । हालसम्म शहिद स्मारक ए डिभिजिन लिगको स्वाद नचाखेका १९ वर्षीय मनिषले एनएसएलमा ६ खेलनै बेन्चबाट सुरु गर्दा १५४ मिनेट मात्रै मैदानमा बिताएका थिए ।
गौतम श्रेष्ठ
पछिल्लो सिजन 'ए' डिभिजन लिगमा जावलाखेल युथका लागि खेल्दै आएका युवा डिफेण्डर गौतम श्रेष्ठ गत महिना भएको एएफसी छनोटको पहिलो र दोस्रो चरणको छनोटमा त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरेका थिए ।
लेफ्ट ब्याकमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका २१ वर्षीय गौतमलाई सो प्रतियोगितामा नियालेका प्रशिक्षक अब्दुल्लाहले आफ्नो लिष्टमा तोनेका हुन् । आगामी लिगमा आर्मीको जर्सीमा देखिने गौतमले दशरथ रंगशामा भएको किर्गीस्तानविरुद्धको खेलमा आर्मीबाट राम्रो प्रदर्शन गरेका थिए ।
एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका गौतमले पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एनएसएलमा ४ खेल सेटमा खेल्दा उनले एक खेलमा मात्रै ७५ मिनेटमा मैदान छोडेका थिए ।
नेपालको सुरुवाती-११