एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले अहिलेको टिम बार्सिलोनाले चाहेको स्तरको टिम नभएको बताएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा इबरलाई हराएपछि प्रशिक्षक कोम्यानले अहिले क्लबले चाहेको जस्तो टिम नभएको तर सुधार गर्दै लैजाने बताएका हुन् ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० ले हराएको थियो । जितसँगै बार्सिलोनाले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।
'हामी यस क्षणमा आईपुगेका छौँ । टोलीले राम्रो गर्यो । मेरो लागि यो बार्सिलोनाले चाहेको स्तरको टिम हैन, क्लबले समेत यस्तै सोच्छ,' कोम्यानले भने, 'हामी टिम सुधार गर्न कोशिस गरिरहेका छौँ । टिममा पुराना खेलाडीहरू छन्, जसले देखाए कि उनीहरू युवा खेलाडीकै स्तरमा छन् । यो टिम पूरा टिम हैन ।'
कोम्यानले यस सिजन टिममा ठुलो हेरफेर गर्ने योजना बनाएका छन् । बार्सिलोनाले म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरो अनुबन्ध गरेको चर्चा चलिरहेको छ । मेम्फिस डिपे अनुबन्ध गर्ने योजनामा बार्सिलोना रहेको चर्चा छ ।
यस्तै प्रशिक्षक कोम्यानले इबरसँगको खेल आफ्नो बार्सिलोनामा अन्तिम खेल नभएको समेत बताए ।