काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिदा विराटनगरविरुद्ध ललितपुरले १-० को अग्रता बनाएको छ ।
कप्तान अन्जन विष्टको गोलबाट ललितपुरले अग्रता बनाएको हो ।
पहिलो हाफबाटै दुबै टिमले आक्रामक खेल खेलेका थिए ।
खेलको छैटौं मिनेटमा विराटनगरका सुनिल बलको क्रसमा एडिलाजा सोमिडेको हेडर बाहिरिएको थियो ।
खेलको सातौं मिनेटमा ललितपुरका मिक्छेन तामाङको फ्रिकिकमा भिलिम पोसिन्कोभिचले बललाई पोस्टको दिशा दिन सकेनन् ।
खेलको १४ औं मिनेटमा विराटनगरका एडिलाजाले गोलको अवसर गुमाए । ललितपुरका गोलकिपर अर्पण कार्कीले फुत्काएको बलमा एडिलाजाले कठिन कोणबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
२७ औं मिनेटमा डिबक्स बाहिरबाट विराटनगरका सन्तोष तामाङको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले सहजै बचाए ।
खेलको ३५ औं मिनेटमा ललितपुरका एरिक विष्टले मैदानको मध्ये भागबाट प्रहार गरेको फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ३६ औं मिनेटमा कप्तान अन्जन बिष्टले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । विमल रानाको प्रहार गोलकिपर किशोरले क्लियर गरेका थिए । उक्त क्लियर गरेको बललाई अन्जनले ड्रप भली प्रहार गर्दै गोलमा परिणत गरे ।
आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ ।
विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ ।
बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।
प्ले अफ पुग्न ललितपुरलाई जितको विकल्प छैन । बराबरीले ललितपुर बाहिरिनेछ ।
ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।