काठमाडौं । फ्रेन्चाईज टिम एफसी चितवनका गोलरक्षक विशाल सुनारले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । तर, विशालकै गल्तिको कारण चितवन एक खेल अगाबै एनएसएलबाट बाहिरिएको छ ।
दशरथ रंगशालामा शुक्रबार पोखरा थण्डर्सविरुद्ध चितवनले प्रतिस्पर्धा गरिरहेको थियो । युवा खेलाडी शिशिर लेखीले ७३ औं मिनेटमा गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा चितवनका विशालले ठुलो गल्ति गरे । काउण्टरमा आएको बललाई डिबक्स नजिक पोखराका नवयुग श्रेष्ठ नियन्त्रण लिन चाहन्थे । तर, चितवनका गोलरक्षक विशाल संयमित हुन सकेनन् र डिबक्स बाहिर निस्केर बललाई हातले पन्च गर्न पुगे । जुन गल्तिको कारण चितवनको तीन अंक मात्र हैन प्ले अफको यात्रा समेत टुंगियो ।
फिफा रेफ्री प्रज्वल क्षेत्रीले बिना संकोच विशाललाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए । पोखराले पायो फ्रिकिकको अवसर । त्यहिँ फ्रिकिकमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्दै पोखरालाई खेलमा फर्काए ।
नवयुगले १८ यार्ड लाईनबाट प्रहार गरेको फ्रिकिक चितवनका गोलरक्षक विवश चौधरीले पत्तै पाएनन् । खेल १–१ को अवस्थामा पुग्ने निश्चित थियो । यस्तो अवस्थामा दुबै टोली एकैपटक प्रतियोगिताबाट बाहिरिने संघारमा थिए ।
तर, डिफेन्समा खेल्दै आएका पोखराका क्यामरुन खेलाडी राफयल रिमगागो खेलको इन्जुरी समयमा गोल गर्दै पोखरालाई २-१ को महत्वपूर्ण जित दिलाए । जितसँगै पोखराले प्लेअफको सम्भावना कायम राख्यो । चितवन भने एक खेल अगाबै बाहिरियो ।
चितवनलाई हराएसँगै पोखरा तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । ८ अंक बनाएको पोखराको लिग चरणको खेल भने सकिएको छ । अब पोखराले शीर्ष चारमा स्थान बनाउन अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
चितवन र पोखराको खेलसँगै एनएसएलको पाँचौ चरणका खेलहरु समेत सकियो । पोखराले भने छैटौं चरणको खेल समेत पूरा गर्यो । धनगढी एफसी र काठमाडौं रेजर्सले भने शीर्ष चारमा आफ्नो स्थान पक्का गरिसकेको छ ।
७ टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टिमले प्ले अफ खेल्नेछ ।
क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछन् । क्वालिफायरमा पराजित टिमले फाइनल पुग्नका लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा क्वालिफायरमा पराजित टिम र तेस्रो र चौंथोबीचको विजेताले खेल्ने छन् ।
प्रतियोगितामा दुई टोलीले शीर्ष चारमा स्थान पक्का गरिसक्दा दुई टिमको टुंगो लाग्न बाँकी रहेको छ ।
अब पोखरा थण्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी मध्ये दुई टिमले शीर्ष चारमा स्थान बनाउने छन् ।
प्रतियोगिताको अन्तर्गत आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा धनगढी एफसी र बुटबल लुम्बिनी एफसीबीच भिडन्त हुनेछ । आईतबार हुने लिग चरणको अन्तिम खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच खेल हुनेछ ।
आज ललितपुरविरुद्ध विराटनगरले जित हासिल गरेको अवस्थामा विराटनगरले शीर्ष चारमा स्थान बनाउने छ । उसको १० अंक रहनेछ । ललितपुरलाई समेत जित बाहेक अन्य विकल्प छैन । विराटनगरविरुद्ध जित निकालेको अवस्थामा ललितपुरको ९ अंकसहित शीर्ष चार सुनिश्चित हुनेछ ।
यता धनगढीविरुद्ध बुटवल लुम्बिनीलाई जितको विकल्प छैन । धनगढी प्ले अफमा पुगिसकेको छ । यद्यपि धनगढी शीर्ष दुईमा रहदै क्वालिफायर खेल्न चाहन्छ ।
बुटबललाई भने प्लेअफमा स्थान बनाउन जितले मात्रै पुग्दैन । अन्य विराटनगर र लतिपुरको खेलले समेत उसको भाग्य निर्धारण गर्छ । उसको प्रार्थना हुनेछ आज विराटनगर र ललितपुरले बराबर खेलुन ।
यदि विराटनगर र ललितपुरले बराबर खेलेको अवस्थामा बुटबलले प्ले अफमा पुग्न धनगढीलाई ४–० गोल अन्तरले पराजित गर्नुपर्नेछ । विराटनगरले बराबर र बुटबल लुम्बिनीले जितेको खण्डमा अंक दुरी बराबर हुनेछ । त्यसपछि हेड टु हेड हेरिने छ । दुबै टोलीले एक अर्कामा २–२ को बराबरी खेलेका छन् ।
आजको पहिलो खेल बराबरको अवस्थामा सकिए त्यसको फाइदा बुटबललाई हुनेछ । बराबरले विराटनगरको ८ अंक हुनेछ । बुटबल लुम्बनीले जितेको खण्डमा उसको समेत ८ हुनेछ र पोखराको समेत ८ अंक रहेको छ । यस्तै अवस्थामा हेड टु हेड समेत बराबर हुनेछ र गोल अन्तरका आधारमा विराटनगर र बुटबल लुम्बिनी प्लेअफमा पुग्नेछन् । पोखरा र ललितपुर बाहिरिने छन् ।
चितवन र काठमाडौंबीचको खेल भने प्रतिष्ठाको लडाई मात्रै हुनेछ । चितवन बाहिरि सकेको छ भने काठमाडौं प्ले अफमा पुगिसकेको छ । यद्यपि काठमाडौं जित निकाल्दै क्वालिफायर खेल्न चाहन्छ । चितवन भने अन्तिम खेल जित्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।