काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्ले अफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।
प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ ।
आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र ललितपुरबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ ।
विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ ।
बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।
प्ले अफ पुग्न ललितपुरलाई जितको विकल्प छैन । बराबरीले ललितपुर बाहिरिनेछ ।
ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
शनिबार हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष स्थानमा रहेको धनगढी प्ले अफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ ।
धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।
बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ ।
बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।