काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।
शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको थियो ।
हारपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रातो कार्डको कारण टिमले हार व्यहोरेको बताए ।
'जित्नका लागि आएका थियौं । त्यहिँ अनुसार खेलेका थियौं । हामीले बराबरी खेल्ने सोचेकै थिएनौं,' उनले भने, 'तर, जब रातो कार्ड खायौं हामीलाई गार्हो भयो । हामी हार्न पुग्यौं ।'
खेलको ७२ औं मिनेटमा शिशिर लेखिले गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए । नितिन थापाको लामो पासमा नवयुग श्रेष्ठ अगाडि बढ्ने क्रममा विशाल बक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
विशालको गल्तीसँगै पोखराले डिबक्सको ठिक बाहिरबाट फ्रिकिकको अवसर पायो । त्यहिँ फ्रिकिकमा कप्तान नवयुग श्रेष्ठले ८६ औं मिनेटमा गोल गर्दै पोखरालाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा राफायलले गोल गर्दै पोखरालाई २-१ को जित दिलाए ।
सहायक प्रशिक्षक कर्माचार्यले १० खेलाडीमा समेटिएपनि जितका लागि प्रयास गरेको बताए ।
'हामीलाई बराबरी खेलेर एक अंकले हुनेवाला केहि थिएन । त्यहिँ भएर १० खेलाडी भएपनि विपक्षीमाथि चढेर खेलेका थियौं,' उनले थपे ।