काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थण्डर्सले आफ्नो अन्तिम लिग खेलमा जित निकाल्यो ।
शुक्रबार भएको खेलमा पोखराले एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता उल्टाएर पोखराले जित निकालेको हो ।
जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । तर, पोखराका सहायक प्रशिक्षक राजेश शाही टिमको खेलबाट असन्तुष्ट देखिए ।
'धेरै पछि जित्यौं । म आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन । आजको खेल जित्नै पर्ने थियो । अन्तिममा आएर जित्यौं,' उनले भने ।
यस जितपछि पोखराले ६ खेलमा ८ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा उक्लिएको छ ।
यस्तै प्रशिक्षक शाहीले मिडफिल्डका खेलाडीहरुले उत्कृष्ट खेलेको बताए ।
'हामीले मिडफिल्डमा जुन योजनामा खेलेका थियौं । हामी त्यसमा सफल भयौं । मिडफिल्डमा हामीले जे प्रयोग गर्यौं त्यो सफल पनि भयो,' उनले थपे ।