काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पोखरा र चितवनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । र, गोलरहित खेल बराबरीमा सकिएको हो ।
खेलको तेस्रो मिनेटमा पोखराका केचा यान्निकको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।
खेलको छैटौं मिनेटमा चितवनका गोरान जेर्कोभिचले सेकेण्डबार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
१२ औं मिनेटमा पोखराका आयुश घलानको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको १५ औं मिनेटमा चितवनका सुनिल श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।
१८ औं मिनेटमा पोखराका नितिन थापाले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट गएको थियो ।
खेलको २७ औं मिनेटमा आयुश घलानले गोलको सुनौलो मौका गुमाए । रबि पासवानको क्रसमा पेनाल्टी बक्स भित्र रहेका आयुशको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफको इन्जुरी समयमा बक्स बाहिरबाट रबि पासवानको प्रहार पोस्ट माथिबाट गएको थियो ।
आज पोखरा जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्न चाहन्छ ।
पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।
पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ ।
चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।
४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ ।
चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।
पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।