काठमाडौं । विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान लले खराब डिफेन्सको कारण काठमाडौं रेजर्ससँग पराजित हुनु परेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार विराटनगर काठमाडौंसँग ५-४ गोल अन्तरले पराजित भएको थियो ।
खेलपछि भारतीय प्रशिक्षक यान लले खेल राम्रो भएपनि डिफेन्समा समस्या देखिएको बताए ।
'आजको खेलमा डिफेन्समा समस्या देखियो । काठमाडौंविरुद्ध अवसर सिर्जना नगरेको हैन । स्कोर गर्न सकेनौं । खेलमा स्कोरको समस्या देखियो । खेल भने राम्रै थियो,' उनले भने ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा विराटनगर पराजित भएको हो ।
पराजित भएपनि विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।
यस्तै यान लले काठमाडौंले पाएको अवसरलाई सदुपयोग गरेको बताए ।
'काठमाडौंले राम्रो अवसरलाई सदुपयोग गर्यो । अहिले काठमाडौं सर्वाधिक गोल कर्ता बनेको छ,' उनले भने ।
यान लले टिममा चोटले समेत सताएको बताए । चोटकै कारण पहिलो हाफमै खेलाडी परिवतर्न गर्नु परेको बताए ।