काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
रोमान्चक खेलमा जित निकालेपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जन खुसी देखिए । प्रशिक्षक महर्जनले टिमले नसोचेको खेल पस्किएको बताए ।
'आजको खेल सोचेको भन्दा फरक भयो । आज नसोचेको खेल भयो । अपेक्षा भन्दा पनि बाहिरको खेल भयो,' उनले भने, 'किनभने पहिले हाम्रो गोल स्कोरमा समस्या थियो । तर आज राम्रो खेले ।'
प्रतियोगिताकै रोमान्चक खेलमा दुई गोलको अग्रता उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको हो ।
यस्तै प्रशिक्षक महर्जनले खेलाडीले आफ्नो निर्देशन अनुसार खेलेको समेत बताए ।
'खेलाडीमा हामी जितेरै अगाडी बढ्छौ भन्ने थियो । त्यही भयो । खेलाडीले निर्देशन अनुसार खेले । खुसी छु । अबको खेल चितवनसँग छ । त्यसमा पनि राम्रो गर्ने कोशिश रहने छ,' उनले भने ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । काठमाडौं दोस्रो स्थानमा समेत उक्लिएको छ ।
यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि धनगढी प्लेअफ पुगिसकेको छ ।
महर्जनले सुरुवातमै गोल खाएपनि खेलाडी सम्हालिएर खेलेको बताए ।
'सुरुमा दुई गोल खादा पनि खेलाडी हतोत्साहित भएनन् । मोटिभेट भएर खेलाडी अगाडी बढे । दोश्रो हाफमा हामीले खेलाडीलाई सम्झाएका थियौं । त्यसलाई उनीहरुले फलो गरे,' महर्जनले थपे ।